फाइल तस्वीर ।

हेटौँडा : शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा हेटौँडामा नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मत समीमको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु नवीन सिग्देल र जुना दाहालको पनि आतिथ्य रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा भुटनदेवी माध्यमिक विद्यालयले श्रमिक माध्यमिक विद्यालयलाई २५–२२, २५–२० को सोझो सेटमा पराजित ग¥यो । पहिलो दिन ८ खेल सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको छ ।

क्वार्टरफाइनल चरणमा २५–१६, २५–१३ को सोझो सेटमा हेटौँडा–१५ स्थित विश्वज्योति आधारभूत विद्यालयलाई पराजित गर्दै हेटौँडा–५ स्थित जीएस निकेतन सेमीफाइनल प्रवेश गरेको छ । यस्तै हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयले हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयलाई १४–२५, २५–२० र १५–१० को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश ग¥यो । यस्तै हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस सेकेण्डरी स्कूलले हेटौँडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालयलाई २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयले हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ ।

यसअघि पहिलो चरणको खेलमा हेटौँडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालयले हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई २५–१५ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । यसैगरी हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयले हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयलाई २५–१४, २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । हेटौँडा–९ स्थित कृष्ण आदर्श इंग्लिस सेकेण्डरी स्कूलले हेटौँडा–४ स्थित नवोदय शिशु सदनलाई २५–१८, २५–१८ को समान सेटमा पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल शनिबार हुप्रचौरस्थित भलिबल कोर्टमा हुनेछ । प्रतियोगिताको संयोजक आधुनिक राष्ट्रिय माविका शिक्षक राजाराम पोखरेल रहनुभएको छ ।