हेटौँडा : राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेदवारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार आइतबार अन्तिम नामावली प्रकाशित गरि कायम रहेको ६ जना उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । निर्वाचनका लागि महिला क्लस्टरमा एमाले कांग्रेस गठबन्धनबाट चितवनकी गिता देवकोटाले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसबाट उम्मेदवार बन्नुभएकी देवकोटालाई रुख चिन्ह प्रदान गरिएको छ भने अन्य क्लस्टरमा गठबन्धनबाट काठमाडौंका डा. प्रेम प्रसाद दंगाल उम्मेदवार बन्नुभएको छ । एमाले निकट अखिल नेपाल कृषक महासंघका अध्यक्ष समेत रहनुभएका दंगाललाई एमालेको चुनाव चिन्ह सूर्य प्रादन गरिएको छ ।

महिला क्लस्टरमा उम्मेदवार बन्नुभएकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरोजकुमारी झालाई पाँचकुने तारा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बन्नुभएकी कविता महर्जनलाई मादल चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताउनुभयो । अन्य समूहबाट उम्मेदवारी दिनु भएका नेकपाका उम्मेदवार प्रेम प्रसाद सापकोटालाई पाँचकुने तारा र नेमकिपाको तर्फबाट उम्मेदवार भएका विक्रम डुकुछुलाई मादल चिन्ह प्रदान गरिएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका कार्यक्रम रहेको छ । बागमती प्रदेशमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका सदस्य २ जना रहेका छन् । तत्कालिन एकीकृत समाजवादीका बेदुराम भुषाल र गंगाकुमारी बेलबासेको पदावधि सकिदैछन् । दुवैजना हाल नेकपा आवद्ध रहेका छन् ।