गमलामा पानी हालेर प्रतियोगिताको उद्घाटन गरिँदै ।

हेटौँडा : हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल महोत्सव सुरु भएको छ । सोमबार बिहान हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रङ्गशालामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन बहादुर जोशी र वडा अध्यक्ष सुशील घिमिरेले विरुवामा पानी हालेर उत्सवको उद्घाटन गर्नुभयो ।

सोमबार विद्यालयको वार्षिक खेल महोत्सव अन्तर्गत एथ्लेटिक्स विधाको खेल हुँदैछ । उत्सवको पहिलो दिन १०० मिटर र २०० मिटर दौड प्रतियोगिता, लङ्ग जम्प, चम्चा र मार्बल दौड लगायतका प्रतियोगिताहरु हुँदैछन् । खेल उत्सव बुधबारसम्म चल्ने छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हरियो, पहेँलो, रातो, निलो र अकाशी गरी ५ वटा हाउसमा बाँडिएको छ । ती हाउसहरुबीच छात्र र छात्राको छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ ।

खेल उत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यक्रम उद्घाटन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सबै क्षेत्रमा अनुशासन जरुरी भएको बताउनु भयो । खेल संयोजक तक्षक सिम्खडाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डे र ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष शर्माको उपस्थिति रहेको थियो ।