नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर विभिन्न कोणबट टिका टिप्पणी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी चुलिएको देखिन्छ ।
कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ संस्थापन पक्षमा रहेर विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् भने प्रदेश सांसद एवम् बागमती प्रदेशसभाका सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । मुख्यमन्त्री बानियाँले केही दिन अघि मात्र एक विज्ञप्ती मार्फत् विशेष महाधिवेशनको औचित्य नरहेको बताएका थिए ।
यता समितिका सभापति लामिछाने भने विशेष महाधिवेशनमा प्रदेश सांसद समन्वय विभागको संयोजक बनेर काम गर्दै आएका छन् । त्यसो त गत साउनमा तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकार ढाल्न र बानियाँलाई मुख्यमन्त्री बनाउन लामिछाने सहितका सांसदहरुको भुमिका महत्वपूर्ण रहेको थियो । लामिछाने सहित पूर्व मुख्यमन्त्री लामा, तथा हाल प्रदेशको क्याविनेट सदस्य रहेका केही मन्त्रीहरु समेत विशेष महाधिवेशनकोल पक्षमा देखिएका छन् ।
एका तर्फ नेतृत्व परिवर्तनको माग प्रदेश सांसदहरुले गर्दै आएका छन् भने अर्को तर्फ कांग्रेस संस्थापन पक्षको कारवाहीको चेतावनी सहितको डण्डा तयारी अवस्थामा राखिएको छ । सो अवस्थाका बिचमा पनि बागमती प्रदेशका सांसदहरु खुलेरै विशे्ष महाधिवेृशनको पक्षमा उभिएका छन् । जसले बागमती प्रदेश सरकारको आगामी यात्रामा समेत प्रभाव पार्ने संकेत देखिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ का लागि विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । सभापति देउवा सहितको केन्द्रीय समितिले भने विश्ेष महाधिवेशनलाई अवैध ठहर गर्दै नियमित महाधिवेशनको प्रक्रियामा निर्धारित कार्यतालिका अनुसार अघि बढ्न पत्राचार गरेको छ ।
सो अवस्थामा विशेष महाधिवेशनको माग गर्दै अघि बढेका सांसदहरु र संस्थापन पक्षबीचको बढ्दो दूरीले सरकारको समीकरणमा संकट खडा गर्ने देखिन्छ । बागमती प्रदेशमा पछिल्लो समय कांग्रेसका ३७ मध्ये १० जना भन्दा बढी सांसद महामन्त्री गगन कुमार थापाको पक्षमा रहेका छन् भने हाल सम्म प्रदेशका ५ जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा सहभागि हुन आह्वान गरेका छन् । प्रदेशको सिन्धुपाल्चोक, रसुवा, काभ्रे, ललितपुर र काठमाडौंका सभापतिले विशेष महाधिवेशनको पक्षमा सहभागि हुन पत्र सहित आह्वान गरेका हुन् ।
सरकार र महाधिवेशनलाई गाँसेर हेरेका छैनौँः लामिछाने
विशेष महाधिवेशनको लागि प्रदेश सांसदहरुको समन्वय गरिरहेका बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले विशेष महाधिवेशन अभियान पार्टी सुधारका लागि मात्र भएको बर्ता । उनले विशेष महाधिवेशनको विषयलाई लिएर सरकारमा असर पर्ने गरी आफूहरुले नहेरेको बताए ।
‘पार्टी एकढिक्का हुँदासम्म विशेष महाधिवेशनको कुराले सरकारलाई असर गर्छ भन्ने हामीले गाँसेर हेरेका छैनौँ ।’ लामिछानेले भने, ‘यद्यपि, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आगामी भूमिकाले परिस्थितिलाई फरक मोड दिन सक्नेछ । सबैले आ–आफ्नो पोजिसन लिने र पार्टी एक ठाउँमा नबस्ने कुराले असर त गरिहाल्छ । तर हामी पार्टीलाई एकढिक्का राख्ने प्रयत्नमा छौँ ।’
हालको राजनीतिक परिस्थिति र सरकारको स्थायित्व मुख्यमन्त्रीको भूमिकामा भर पर्ने सांसद लामिछानेले बताए । मुख्यमन्त्रीको भूमिका जस्तो हुन्छ, जवाफ पनि त्यस्तै पाउने उनको भनाई छ । मुख्यमन्त्रीले राजनीतिक सुझबुझ राखेर सबैको भावनाको कदर गर्नुहुन्छ भन्ने विश्वास छ, तर कसैको भावना कदर नगरे उहाँकै आचरणले थप समस्या निम्त्याउन सक्ने उनले बताए ।
विशेष महाधिवेशनका लागि प्रदेश सांसदहरुको उत्साहजनक सहभागिता रहेको उनले दाबी गरे । सांसद लामिछानेका अनुसार पहिले हस्ताक्षर नगरेका सांसदहरु पनि अहिले सम्पर्कमा आइरहेको र पार्टीलाई अझ बढी लोकतान्त्रिक र आक्रामक बनाउन विशेष महाधिवेशनको पक्षमा उभिएको उनले बताए ।
पार्टी सुधार्न विशेष महाधिवेशन अनिवार्य छ, सरकारको कुरा गौण होः लामा
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको आयु वा परिवर्तनभन्दा पार्टीको आन्तरिक सुदृढीकरण र विशेष महाधिवेशन मुख्य प्राथमिकता रहेको उल्लेख गरे । उनले निर्वाचनमा जनतालाई अनुहार देखाउन र एजेन्डा लैजान पनि पार्टीभित्र ‘रिहाब’ आवश्यक रहेको बताए ।
पार्टीलाई पुनर्जीवन (रिहाब) दिन र आगामी निर्वाचनमा जनताको विश्वास जित्न विशेष महाधिवेशन अनिवार्य भएको उनले बताए । सरकार टिकाउने वा बदल्ने विषयभन्दा पार्टीको आन्तरिक सुदृढीकरण बढी महत्वपूर्ण रहेको उनको भनाई छ ।
उनका अनुसार पार्टीका भ्रातृ संस्थाहरु समयसापेक्ष अपडेट हुन नसक्दा समस्या भइरहेको छ । पार्टीमा दुःख गरेर आउनेहरुको मूल्यांकन हुनुपर्ने र पोर्टफोलियोको महत्व कायम रहनुपर्नेमा उनले बताए । विशेष महाधिवेशनले पार्टीको विधानमा रहेका जटिलताहरु हटाउनुपर्ने उनले बताए । निर्वाचनमा जाँदा हामीले जनतालाई फेस गर्ने स्पष्ट एजेन्डा र इस्यु लिएर जानुपर्ने भएकाले विशेष महाधिवेशनबाट पार्टीलाई विस्तारित र बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।
‘अहिलेको मुख्य कुरा पार्टी रिहाब गर्ने हो । यसले सरकारलाई खासै प्रभावित नपार्ला । तर प्रभावित पार्ने वा नपार्ने भन्ने कुरा पछिको हो । प्रदेश सरकारभन्दा पनि महत्वपूर्ण अहिले विशेष महाधिवेशन हो । यसले गर्दा सरकार खासै प्रभावित नहोला । तर फेर्नै खोज्ने हो भने त अरुले जस्तै गर्दा तुरुन्तै पनि हुन्छ ।’ सरकारमा पर्ने प्रभावबारे लामाले भने, ‘हामी अहिले त्यतातिर लागेका छैनौँ । सबैलाई समेटेर अघि बढ्ने र कसैको मन नचिढ्याई काम देखाउने पक्षमा आफूहरु रहेका छौं ।’
यता प्रदेश सांसद रामकृष्ण चित्रकारले भने पार्टीको आन्तरिक राजनीति र ध्रुवीकरणले प्रदेश सरकारलाई अछुतो राख्न नसक्ने धारणा राखे । उनले नेतृत्व तहमा देखिएको फरक मतले सरकारको कार्यशैलीमा प्रभाव पार्ने बताए ।
‘प्रदेशको राजनीति र पार्टीको आन्तरिक अवस्थाले सरकारहरूमा प्रभाव त परिहाल्छ । मुख्यमन्त्री विशेष महाधिवेशनको विपक्षमा उभिनु र सोही दलका सांसदहरु समितिमै बसेर महाधिवेशनको तयारीमा लाग्नुले कतै न कतै सरकारमा प्रभाव पर्छ । पार्टीभित्रको आन्तरिक विवादले कार्यकर्तामा निराशा छाउन सक्छ । जसको प्रत्यक्ष असर आगामी निर्वाचन र वर्तमान सत्ता समीकरणमा पर्न सक्छ ।’ उनले भने ।











