हेटौँडा : इन्द्रसरोवर गाउँपालिकामा आगामी माघ १९ गतेदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माघ १९ देखि २१ गतेसम्म हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो ।
शिक्षा शाखा प्रमुख पन्तका अनुसार इन्द्रसरोवर–२ स्थित गाउँपालिकाको खेलमैदानमा प्रतियोगिता हुनेछ । गाउँ कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै सबै माध्यमिक विद्यालयहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगितामा छात्र र छात्राका बीच छुट्टाछुट्टै भलिबल र एथ्लेटिक्सतर्फका विभिन्न प्रतिस्पर्धाहरू हुनेछन् । एथ्लेटिक्स अन्तर्गत रिले दौड, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट खेलहरू हुनेछन् ।
चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीहरुमात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रत्येक खेलाडीले एउटा विधामा मात्र भाग लिन पाउनेछन् भने एथ्लेटिक्सका इभेन्टमा एक खेलाडीले बढीमा एक फिल्ड र दुई ट्रयाक वा दुई फिल्ड र एक ट्रयाकमा मात्र भाग लिन पाउनेछन् । इच्छुक विद्यालयहरूले आगामी माघ ९ गते दिउँसो १२ बजेभित्र नाम दर्ता गराइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।











