अवैध रूपमा नियन्त्रणमा लिएको गोरुहरु ।

हेटौँडा : मकवानपुर प्रहरीले अवैध रूपमा ल्याइएका १२ वटा गोरुसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । बुधबार राति १ बजेर ३० मिनेटको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१९, नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा ज्यामिरेबाट बस्तीपुरतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख १२२० नम्बरको आइचर ट्रकबाट अवैध रूपमा ल्याइएका गोरु फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

ट्रकलाई सुरक्षा जाँच गर्दा आवश्यक कागजपत्रबिना अवैध रूपमा ल्याइएका १२ वटा गोरु फेला परेका थिए । ट्रक चालक हेटौँडा–१५ का २५ वर्षीय अखिल भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका गोरु तथा चालकलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौँडामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।