हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ७ सयभन्दा बढी विद्यार्थीको आँखा परीक्षण भएको छ । विद्यालयद्वारा सञ्चालित दुई दिने आँखा शिविरमा बिहीबार पहिलो दिन ७ सय १ जना विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिनुभयो ।

शिविर सञ्चालनमा हेटौँडा आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ । शिविर शुक्रबारसम्म चल्नेछ । विद्यालयले माघ ४ गतेदेखि विधिवतरुपमा ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) मनाउने तयारी गरेको छ । स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बिहीबार र शुक्रबार दुई दिने आँखा शिविर, सोमबार दन्त शिविर र माघ २ गते विद्यालय सरसफाई तथा रङरोगन कार्यक्रम गर्ने विद्यालयले जनाएको ।

स्वर्ण महोत्सव मनाउन ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हालसम्म २० लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको र सहयोग आउने क्रम जारी रहेको प्रधानाध्यापक कर्णले बताउनुभयो ।