हेटौँडा : हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयले ६० औँ वार्षिक उत्सव मनाएको छ । विद्यालयले आइतबारदेखि मंगलबारसम्म विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा फुटबल, भलिबल, कबड्डी, दौड र नृत्यजस्ता प्रतियोगिताहरु आयोजना गरेको विद्यालयका सहायक प्रधानाध्यापक विश्वनाथ सन्जेलले जानकारी दिनुभयो । मंगलबार समापन कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई मेडल वितरण गरिएको थियो ।

विद्यालयले शैक्षिक सत्र २०८१ को कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको सहायक प्रधानाध्यापक सन्जेलले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इवाकर मैनालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष रामकृष्ण थापाको उपस्थिति रहेको थियो ।