सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौँडा : व्यावसायिक सीप विकास तालिम संचालनका लागि प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् र १५ स्थानीय तह बीच सम्झौता भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय मातहत रहेको परिषद्ले प्रदेशका १५ वटा स्थानीय तहबीच सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।

सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वादेको प्रमुख आतिथ्य तथा परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षतामा मंगलबार सम्झौता कार्यक्रम भएको थियो । सम्झौता अनुसार प्रदेशका ८ जिल्लाका १५ वटा स्थानीय तहमा ९ वटा विभिन्न पेशामा छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गरिनेछ । जसअन्तर्गत मकवानपुर जिल्लाका ६ वटा स्थानीय तह, काठमाडौं र नुवाकोटका २–२ वटा स्थानीय तह तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ र काभ्रे जिल्लाका १–१ वटा स्थानीय तहहरु समेटिएका छन् ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री वादेले बेरोजगार युवाहरुलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने लयमा प्रदेश सरकार रहेको बताउनुभयो । परिषद्ले संचालन गरेको सीपमुलक कार्यक्रमले युवालाई रोजगारी प्रदान गर्नुको साथै उद्यमशीलतातर्फ अग्रसर गराएको उहाँले बताउनुभयो । स्थानीय तहको साझेदारीमा सञ्चालन हुने तालिमले लक्षित वर्गसम्म पहुँच पुर्‍याउन सहज हुने उहाँको भनाई छ । परिषद्ले स्थानीय तहहरुसँगको समन्वयमा छोटो अवधिको तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

सम्झौतापछि अब सम्बन्धित स्थानीय तहहरुमा तोकिएका विषयमा तालिम प्रक्रिया अगाडि बढ्ने परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिनुभयो । सम्झौता कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर घलान गुरुङ, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, ताँदी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ र भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थिति रहेको थियो । त्यसैगरी, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान र तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीलगायतको सहभागिता रहेको थियो ।