हेटौँडा : बागमती प्रदेश सरकारले २ वटा समिति गठनका लागि स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २ वटा समिति गठन आदेशलाई पारित गरेको हो । बैठकले पारित नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश पारित गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
बैठकले प्रदेशभित्र सञ्चालनमा रहेको सवारी साधनको केही दस्तुर, कर र जरिवाना छुट दिने निर्णय गरेको छ । बैठकले प्रदेशमा विपन्न नागरिक आकस्मिक उपचार सेवाका लागि रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । साथै बैठकबाट रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ को वडा विभाजनसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ । यसैगरी बागमती प्रदेशको मन्त्रिपरिषद् कार्यालयमा जीवराज बस्याल र गीता हुमागाईलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले दिएको राजीनामा स्वीकृत गरिएको सरकारका प्रवक्ता तामाङले बताउनुभयो ।










