हेटौँडा : विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका पाँच जना पक्राउ परेका छन् । खोजी गर्ने आइतबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा–९ का वर्षीय पंकज मण्डल, हेटौँडा–६ का ३५ वर्षीय शंकर सार्की र सोही स्थान बस्ने ३५ वर्षीय राजकुमार चौलागाई रहेका छन् । यसैगरी भिमफेदी–५ का २६ वर्षीय रोहित मिजार र भिमफेदी–३ का ३४ वर्षीय रचिन बूढाथोकी पक्राउ परेका छन् । शंकर सार्कीले सवारी ज्यान मुद्दामा ३० हजार रुपैयाँ जरिवाना, राजकुमार चौलागाई चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना र पंकज मण्डलले कुटपिट मुद्दामा १ वर्ष २६ दिन कैद र २ सय रुपैयाँ जरिवाना सजाय पाएका थिए भने रोहित मिजारलाई लागूऔषध मुद्दामा १० हजार र ३ वटा चेक अनादर मुद्दामा दोषी ठहर भएका रचिन बूढाथोकीलाई ६ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरुलाई पक्राउ गरेर आवश्यक करवाहीका लागि मकवानपुर जिल्ला अदालत र सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।











