हेटौँडाः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २१ जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरबाट विरोध खतिवडाको नाम दुवै क्षेत्रबाट सिफरिसमा परेको छ ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडा सहित मकवानपुर–१ बाट संविधानसभा सदस्य प्रल्हाद लामिछाने, नेकपाका नेता विजय गौतम र धनप्रसाद गौतम, बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय मकवानपुरका प्रमुख ललित घलान, भीम पाख्रिन, सर्केश घलान, किशोरी टण्डन लगायतको नाम सिफारिस गरिएको छ । मकवानपुर–२ बाट पनि खतिवडा सहित नेकपाका नेता रामनारायण विडारी, थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट, प्रदेशसभा सदस्य कुमारी मोक्तान, वीरबहादुर घलान, किशोर बर्तौला, सागर उप्रेतीलगायतको नाम सिफारिस गरिएको छ ।
यो सिफारिससंगै खतिवडा सातौैं चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । २०४८ देखि निरन्तर मकवानपुरबाट निर्वाचन लडेका उनले एक पटक मात्र पराजय भोगेका छन् । त्यसअघि २०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचन भने उनी हारेका थिए । विषेशगरी मकवानपुरको उत्तर पश्चिममा पर्ने मकवानपुर–२ को भुगोलबाट निर्वाचन लड्दै आएका उनी सो हाल ७ औं पटकको प्रतिस्पर्धामा उत्रिने तयारी गरेका हुन् । २०४८ बाट लगातार ४ पटकको निर्वाचन जितेका उनले आगामी चुनावमा उम्मेदार भएमा प्रतिस्पर्धा तयारी गरेका हुन् । २०७९ को निर्वाचनमा पराजित भएका उनले त्यसअघिका सबै चुनाव जितेका थिए ।
मकवानपुरका नेता विरोध खतिवडा करिब ३३ वर्षे राजनीतिक जीवनमा उनी ४ पटक चुनाव जिते तर बन्त्री बन्ने अवसर २०७८ मा पहिलो पटक प्राप्त गरेका थिए। धेरैले खतिवडालाई हक्की र निडर स्वभावको नेताका रूपमा चिन्छन् । २०१५ फागुन १० मा मकवानपुरको गढी गाविस (हाल हेटौँडा उपमहानगरपालिका– १७, हटिया, राजदेवी) मा जन्मिएका खतिवडाका बाबु बद्री खतिवडा पनि पुराना कम्युनिस्ट नेता हुन् । विरोध खतिवडाले हेटौँडाको भुटनदेवी माविबाट २०३३ सालमा एसएलसी गरेका हुन् । उनले नेपाल ल क्याक्पसबाट २०३४–२०३९ मा बीएल गरे । बाबु बद्री खतिवडाको प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा होमिएका विरोधले २०४८, २०५१, २०५६, २०७४, र २०७९ गरी चार पटक चुनावी प्रतिस्पर्धा गरेका छन् । २०६४ र २०७० मा भने उनले उम्मेदवार बन्ने अवसर पाएनन् ।
मकवानपुर–२ का आधिकांश क्षेत्र ग्रामीण भेगमा पर्दछ । तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रले रुपचन्द्र विष्ट ‘रुदाने’ को इतिहास बोकेको छ । ‘थाहा’ अभियानका प्रणेता रुदाने (रुपचन्द्र–दामन–नेपाल) ले सोही निर्वाचन क्षेत्र अन्तर्गत पर्ने थाहा नगरपालिकामा राजनीति गर्थे । जनमुखी नेताका रुपमा परिचित रुपचन्द्रले २०२९÷०३० सालतिरबाट दामन क्षेत्रमा थाहा आन्दोलन सुरु गरेका थिए । रुपचन्द्रले छोडेको छापकै कारण हालसम्म पनि सो क्षेत्रमा कम्युनिष्टको राम्रो पकड कायम भएको हो । २०४३ मा मकवानपुरबाट जनपक्षीय राष्ट्रिय पञ्चालय सदस्यको चुनावमा उम्मेदवार बने । खतिवडाले थाहा अभियन्ता रुपचन्द्र विष्टसँग प्रतिष्पर्धा गरेका थिए । सो निर्वाचनमा रुदानेले जित्दा विरोध हारेका थिए ।
२०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा जिल्लामा ३ वटा निर्वाचन क्षेत्र थिए । संघीय निर्वाचनमा मकवानापुर–२ मा गैरकम्युनिष्ट उम्मेदवार अहिलेसम्म जितेका छैनन् । यस क्षेत्रमा अहिलेसम्म एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले मात्रै जितेको इतिहास छ । २०४८ को आम निर्वाचनमा सो क्षेत्र अन्तर्गत पर्ने मकवानपुर–२ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडाले चुनाव जितेका थिए भने मकवानपुर–३ मा एमालेबाटै हिरण्यलाल श्रेष्ठ विजयी भएका थिए ।
२०५१ मा भएको मध्यावधि निर्वाचनमा मकवानपुर–२ मा खतिवडा र मकवानपुर–३ मा श्रेष्ठ नै विजयी भए । २०५६ को आम निर्वाचनमा मकवानपुर–२ मा पुनः खतिवडा विजयी भए भने मकवानपुर–३ मा विरबहादुर लामा निर्वाचित भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा भने जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । सो निर्वाचनमा मकवानपुरमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो । २०६४ मा २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान विजयी भएका थिए । २०७० को निर्वाचनमा मकवानपुर–२ बाट एमालेका सुभाषचन्द्र ठकुरी र मकवानपुर–४ बाट एमालेका राजाराम स्याङ्तान निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा मकवानपुरमा २ क्षेत्र कायम भए । जसमध्ये साविकका २ र ३ नम्बर क्षेत्र मिलाएर हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बनाइएको हो ।जसमध्ये मकवानपुर–२ मा एमालेबाट विरोध खतिवडा पुनः विजयी भए । २०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा मकवानपुर–२ बाट विरोध खतिवडा पराजित हुँदा एमालेका महेश बर्तौला विजयी भए । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रहेका खतिवडाको कमजोर संगठनका कारण बर्तौलासंग पराजित भएका थिए । खतिवडालाई सत्ता गठबन्धनको साथ भएपनि आफ्नै चेलोसंग पराजित भएका थिए ।
मुलुकमा बहुदल स्थापनाका लागि भएको आन्दोलन, शैक्षिक तथा मजदुर आन्दोलनमा सहभागी हुँदा पटक÷पटक जेल परेक खतिवडाले ३ देखि १४ महिनासम्म जेल बसेका छन् । समग्र रपमा उनले ५ वर्ष जेल जीवन बिताए । खतिवडाले पहिलो पटक २०३७ मा काठमाडौंको सेन्ट्रल जेलमा जेल जीवन बिताए । त्यतिबेला उनी केपी ओली, राधाकृष्ण मैनाली, वेदुराम भुषालसँगै जेलमा बसेका थिए । उनी डिल्लीबजार, भीमफेदी, स्याङ्जा, गौर, पोखरा लगायतका कारागारमा पनि जेल जीवन बिताएका थिए । भुटनदेवी माविबाट २०२८ देखि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् खतिवडा । त्यतिबेलै उनले अखिलको उपसचिव पदमा उम्मेदवारी दिए । खतिवडा २०३५–२०३६ मा ल क्याम्पसमा स्ववियु पदाधिकारी बने । साथै अखिलको केन्द्रीय सदस्य पनि भए । उनी २०३५/०३६ सालमा पार्टीको जिल्ला कमिटीमा आबद्ध भए । २०४० सालअघिसम्म उनी भूमीगत राजनीतिमा समेत सक्रिय थिए ।











