हेटौँडा : बागतमी प्रदेशमा कार्यरत ३ जना सचिवको सरुवा गरिएको छ भने ३ जनालाई प्रदेशमा खटाउने गरी पठाइएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौँडा, वन तथा वातावरण मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगमा कार्यरत सचिवलाई सरुवा गरिएको हो ।
बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिव (प्रदेश सचिव)को सरुवा गरेको हो । उक्त सरुवामा बागमतीका ३ सचिवहरु परेका छन् । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडामा कार्यरत रितेश शाक्य रहनु भएको छ । उहाँको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । उहाँ करिव १ वर्षदेखि उक्त जिम्मेवारीमा रहनु भएको थियो।
त्यस्तै प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालको संघीय वन तथा वातावरण मन्त्रालय अन्तर्गतमा सरुवा गरिएको छ भने प्रदेश नीति तथा योजना आयोमा कार्यरत विरेन्द्रदेव भारतीको भरतपुर महानगरपालिकामा सरुवा गरिएको छ ।
यता संघीय सरकारबाट ३ सचिवलाई बागमती प्रदेशमा खटाइएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत कार्यरत नवराज पुडासैनी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत जीवलाल भुषाल र लोकसेवा आयोगमा कार्यरत गिताकुमारी हुमागाईंलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । उनीहरुको विभागीय जिम्मेवारी बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तोक्नेछ ।











