अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा।

हेटौँडा: मकवानपुर जिल्लाको कक्षा–१२ को नतीजा सुधारको विषयमा राष्ट्रिय परीक्षा बोर्डले हेटौँडामा अन्तरक्रियाको आयोजना गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको उपस्थितिमा बोर्डले शुक्रबार हेटौँडामा अन्तरक्रियाको आयोजना गरेको हो । २०८१ सालको वार्षिक परीक्षामा करिब ५१ प्रतिशत विद्यार्थी मात्रै वर्गीकृत हुन सफल भएको उल्लेख गर्नुहुँदै राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रिबहादुर पाठकले झण्डै आधा विद्यार्थी असफल भइरहनु चिन्ताको विषय भएकोले समीक्षा र सुधारका लागि अन्तरक्रिया गरिएको बताउनुभयो ।

राष्ट्रिय औषत र प्रदेशको औषत उत्तीर्ण दरभन्दा पनि मकवानपुरको नतीजा कमजोर रहेको उल्लेख गर्नुहुँदै पाठकले भन्नुभयो, ‘कमजोर नतीजाको विषयमा समीक्षा गर्न आवश्यक देखिएर कार्यक्रमका लागि स्रोत नभए पनि मागेरै भए पनि विद्यालय र क्याम्पसका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर समीक्षा गर्न खोजिएका छौं ।’ उहाँले नतीजाको अवस्थालाई प्रस्तुत गर्नुहुँदै नतीजा सुधारका लागि सम्बन्धित शैक्षिक संस्था, पालिकाले विज्ञसँग परामर्श गर्ने, कमजोर अवस्थाका विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो । अन्तरक्रियाका क्रममा उठेका जिज्ञासा र सहभागीको भनाइ पछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले संघीय सरकारले शिक्षा ऐन जारी गर्न नसकेको उल्लेख गर्नुहुँदै स्थानीय सरकारले संघीय सरकारसँग लड्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको सबै तह र क्षेत्रमा समस्या रहेको, सिकाई उपलब्धी ५० प्रतिशतभन्दा कम रहेको, नतीजा सुध्रँदा आशंका गर्नुपर्ने, खस्कँदा चिन्ता गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

छलफलमा सहभागी शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिले कक्षा–१२ सम्म निशूल्क शिक्षा भनिए पनि विविध शीर्षकमा विद्यार्थीसँग शूल्क लिनुपर्ने बाध्यता रहेको उल्लेख गरेका थिए । राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रिबहादुर पाठकको प्रस्तुतीपछि सेवानिवृत्त शिक्षक रमेशप्रसाद लामिछानेले कक्षा–१२ को नतीजा सुधारका लागि कक्षा–११ को परीक्षा पनि बोर्डले नै लिनुपर्ने, शैक्षिक संस्थाको समग्र सुधारमा ध्यान दिनुपर्ने, अभिभावक सचेतनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै पत्रकार सुरेश श्रेष्ठले शिक्षाको सुधारमा राजनीतिक नेतृत्वको इच्छाशक्ति र चासो जरुरी रहेको औँल्याउनुभयो । विद्यालय शिक्षामा पालिकाको ध्यान पुग्न नसक्नु, परिमाणमा मात्रै समीक्षा नगरी गुणात्मक पक्षमा पनि समीक्षा गर्ने हो भने समग्र विद्यालय शिक्षाको अवस्था चिन्ताजनक भएको उहाँको भनाइ थियो । दलीय भागवण्डामा सहायक प्रधानाध्यापक नियुक्त हुने प्रवृत्ति गलत भइरहेको, शैक्षिक सुधारमा समीक्षा, बहस र योजना निर्माणको काम नै हुन नसकेको पनि श्रेष्ठको दावी थियो ।