कार्याक्रमको क्रममा बोल्नु हुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीहरु उत्पादनसँग जोडिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडा–८ स्थित सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा तथा स्थानीय उत्पादनको वृहत् प्रदर्शनी तथा बिक्री मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय सहकारी संस्थाहरुको नामबाटै जो कोही तर्सिने अवस्था रहेकाले सहकारीलाई उत्पादनका माध्यमबाट अघि बढाए सहकारीबाट मुनाफासमेत कमाउन सकिने बताउनुभयो ।

सहकारी क्षेत्रलाई सरकारी र निजीसँग जोडेर तीन खम्बे अर्थतन्त्रबाट देशको विकास गर्ने अवधारणा अघि सारिएको भए पनि व्यवहारिकरुपमा सहकारीहरुले प्रभावकारी भूमिका खेल्न नसकेको उहाँले बताउनुभयो । उत्पादनलाई प्राथमिकता दिने सहकारीको रुपमा सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिचान बनाउँदै लगेकोमा सकारात्मक प्रतिक्रियासमेत दिनुभएको छ । उहाँले जनता आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहकारी संस्थामार्फत् उत्पादन कार्यक्रम गर्न निकट भविष्यमै विभिन्न नीति तथा कार्यक्रम तय गर्नेसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रामबहादुर बस्नेतले संस्थाले सहकारीहरुको भिडमा अलग्गै पहिचान बनाउने उद्देश्यका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले सहकारीका सदस्यहरुलाई नै व्यवसायी बनाउने अभियानका साथ भविष्यमा शेयर सदस्यहरुलाई जीविकोपार्जनका लागि खाद्यान्न पेन्सनको रुपमा दिइने, शेयर सदस्यहरु समूहहरुमार्फत् विभिन्न उत्पादनलाई बढावा दिनेलगायतका योजनाहरु रहेको बताउनुभयो । उहाँले विभिन्न दैनिक आवश्यकताका वस्तुहरु उत्पादन गरी स्वस्थ, मिसावटरहीत र बिचौलियाबिहीन तवरले उत्पादनहरु सर्वसाधारणलाई प्रदान गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।

कार्यक्रममा संस्थाले हालसम्म ६ करोड २२ लाख ५९ हजार रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ । संस्थामा हालसम्म २ करोड ९० लाख ६८ हजार शेयर पुँजी रहेकोसमेत कार्यक्रममा जानकारी दिइएको छ । संस्थामा आबद्ध ३० वटा समूहहरुद्वारा उत्पादित चामल, तेल, कोदो तथा फापरको पिठो, हार्पिक, फिनेल, साबुन, गाईवस्तु तथा बङ्गुरको दाना, जडिबुटी चियालगायतका सामग्रीहरुको ५० वटा स्टलसहित प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । संँस्थाले शुक्रबार उद्घाटन गरेको प्रदर्शनी तथा छुटसहितको बिक्री कार्यक्रम शनिबारसम्म चल्नेछ ।

मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामकृष्ण थापा, वडा नं ७ का वडा अध्यक्ष दामोदर गौतम, संस्थाका सल्लाहकार रघुरमण न्यौपाने र राधाकृष्ण मैनाली, सहकारी सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।