हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले परम्परागत शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन गरेको बताउनुभएको छ । उहाँले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश विश्वविद्यालय अन्तर्गतका आंगिक कलेजहरुसँगको सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विगतको शिक्षा प्रणालीले बढी मात्रामा अप्राविधिक जनशक्ति उत्पादन गरेको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले अब ‘गरी खाने’ शिक्षा नीति लागु गर्न चाहेको उहाँले स्पष्ट पार्नुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसहरु बागमती विश्वविद्यालयमा समायोजन हुँदा कतिपयमा संशय देखिएको भन्दै उहाँले आत्मीयता बढाउन आग्रह गर्नुभयो । उहाँले विगतमा अभिभावकविहीन बच्चा जस्तो अवस्थामा रहेका शैक्षिक संस्थाहरुलाई अब प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘बेरोजगार उत्पादन गर्ने शिक्षाको अब काम छैन । २१औँ शताब्दी र एआई को जमानामा शिक्षालाई प्रविधि, सीप र तालिमसँग जोडेर जीवनयापन गर्न सकिने बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘मुटु माथि ढुंगा राख्नु प¥या छ भने जस्तो होइन, हृदय भित्र मुटु राखेर काम गरौँ । तपाईंहरु (आंगिक कलेज) अब बागमती प्रदेश विश्वविद्यालयको अंग हुनुभएको छ । हामी अभिभावकको भूमिकामा छौँ । जसरी बुवाआमाले छोराछोरी बिग्रिन नदिन प्रत्यक्ष रेखदेख गर्छन् । त्यसरी नै प्रदेश सरकारले विश्वविद्यालय र यसका आंगिक कलेजहरुलाई सबल र सक्षम बनाउन निगरानी र सहयोग गर्नेछ ।’
मुख्यमन्त्री बानियाँले विद्यार्थीहरुले पढ्दै, सिक्दै र कमाउँदै गर्ने वातावरण सिर्जना गर्न पाठ्यक्रममै परिवर्तन आवश्यक रहेको औँल्याउनुभयो । बागमती प्रदेशले शिक्षा नीतिमा रोजगार सिर्जना गर्ने र डिजिटलाईज्ड प्रणालीलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । संघीय सरकारले नीति, प्रदेशले विकास र स्थानीय तहले सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उनको भनाई छ । उहाँले बागमती सरकार स्वास्थ्य, शिक्षा र कृषिलाई प्रविधिसँग जोडेर समग्र विकासको गतिमा अघि बढ्न चाहेको बताउनुभयो ।
बागमती विश्वविद्यालयले हाल ५ वटा कलेजलाई आंगिक कलेजका रुपमा अगाडि बढाएको र हेटौंडाको हकमा प्रक्रिया चलिरहेको जानकारी उहाँले बताउनुभयो । उहाँले विश्वविद्यालय नेतृत्वलाई अनुभवी र प्राविधिक पक्षलाई समेटेर अघि बढ्न निर्देशन समेत दिनुभयो ।
५ वटा सामुदायिक क्याम्पससंग सम्झौता
बागमती विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना संचालनका लागि प्रदेशभित्रका ५ वटा सामुदायिक क्याम्पसहरुसँग समायोजन सम्झौता गरेको छ । मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा क्याम्पसहरुसंग सम्झौता गरिएको हो ।
प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यका साथ विश्वविद्यालयले विभिन्न जिल्लामा सञ्चालित प्रतिष्ठित क्याम्पसहरुलाई आफ्नो आंगिक क्याम्पसको रुपमा अगाडि बढाउने निर्णय गरे अनुसार सम्झौता गरिएको हो ।
उक्त कार्यक्रममा मुख्यमन्त्री बानियाँको उपस्थितिमा विश्वविद्यालय र सम्बन्धित क्याम्पसका प्रमुखहरुबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । जस अनुसार भुवानी शंकर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पससंग विश्वविद्यालयले सम्झौता गरेको हो । सो सम्झौतासँगै उक्त क्याम्पसहरुमा बागमती प्रदेश विश्वविद्यालयको नीति नियम र पाठ्यक्रम अन्तर्गत सञ्चालन हुने प्रक्रिया अघि बढ्नेछ ।











