हेटौंडा : अखिल नेपाल महिला संघ मकवानपुरले लैङ्गिक हिंसा बिरुद्ध प्रभावकारी प्रक्रिया अपनाउन सरकारसँग आग्रह गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष सुमित्रा काफ्लेले हिंसा न्यूनीकरणका लागि प्रक्रियाहरु सहज बनाउन माग गर्नुभएको हो ।
महिला जनप्रतिनिधिहरु झनै हिंसामा परेको भन्दै ज्ञापनपत्रमा समाजमा व्याप्त हिंसा न्यूनीकरण, दोषीमाथि कारवाहीको प्रक्रियालाई सहज र सरल ढंगले पूरा गर्न सरकारसँग आग्रह गरिएको छ । नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरु बढेको र घटनाहरु सार्वजनिक भइरहेको अवस्थामा जिम्मेवार पदमा रहेका व्यक्तिहरुसमेत हिंसाका घटनामा संलग्न हुनुले गम्भिरतापूर्वक सोच्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
महिलाहरु हिंसाको शिकार बन्नु भनेको समाजको आधाभन्दा बढी हिस्सा संकटमा पर्नु भएकाले यसलाई लैङ्गिक हिंसाको रुपमा मात्र हेर्न नहुने अनेमसंघले ठहर गरेको छ । नेपाल सरकारले यस वर्षको लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानमा प्रविधिको सही प्रयोग गरौं महिला हिंसा अन्त्य गरौं भन्ने मूल नाराका साथ अभियान चलाए पनि साइबर अपराधका घटना र महिला हिंसा खासै न्यूनीकरण भएको नदेखिएकाले महिला हिंसा निवारणका लागि ठोस कदम चाल्न सरकारसमक्ष माग गरिएको छ । यस्तै, महिलाहरुलाई आउँदो निर्वाचनमा स्वतन्त्रापूर्वक मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न पहल गर्नसमेत माग गरिएको छ ।











