हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले सिन्धुली जिल्लामा अस्थायी ट्रफिक प्रहरी पोष्टमा कार्यरत हवल्दार रामप्रसाद थपलियालाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरी कार्यालयले पहिलो पटक महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा बिहीबार रामप्रसादलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो । राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहित गर्ने रणनीति अनुरुप सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको बागतमी प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारी गलत क्रियाकलाप गर्न खोज्ने सवारी चालकहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आफ्नो जिम्मेवारी ईमान्दारितासहित पूरा गरेकोले रामप्रसादलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिनुभएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १५ वटा प्रहरी कार्यालयबाट प्राप्त प्रहरी कर्मचारीको कार्य विवरण मध्ये प्रहरी हवल्दार रामप्रसाद थपलियाको कार्यविवरण उत्कृष्ट पाइएकाले उहाँलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको प्रवक्ता गिरिले जानकारी दिनुभएको छ । प्रहरी कर्मचारीहरुको मनोवल, साहस र हौसलालाई अभिबृद्धि गर्न र प्रत्येक प्रहरी कर्मचारीहरुलाई रचनात्मक कार्यतर्फ उत्प्रेरित गरी उत्कृष्ट कार्य सम्पादनका लागि असारमा उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ ।
प्रदेश प्रहरी कार्यालयमा महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीका लागि सबै मातहत कार्यालयले नामावली सिफारीस गर्नुका साथै प्रदेश कार्यालयबाट छनौट भएका बाहेकका प्रहरी कर्मचारी आ–आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी हुने व्यवस्था कार्यविधीमा रहेको छ । कार्यविधीकै व्यवस्था अनुसार साउन महिनामा मात्रै १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।