हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा नागरिकता बनाउनेको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १६ हजार ५ सय ८१ जनालाई बशंजको आधारमा नागरिकता लिएकामा गत आर्थिक वर्ष २०७६/७७ मा ७ हजार ९ सय १८ जनाले मात्र नागरिकता लिएका छन् । गत आव २०७६/७७ मा ३ हजार ७ सय ९९ जना पुरुष, ४ हजार १ सय १८ महिला र १ जना अन्यले नागरिकता लिएका छन् ।

अघिल्लो आव २०७५/७६ मा ७ हजार ६ सय ८६ जनले नागरिकताको प्रतिलिपि लिएकामा गत वर्ष २०७६/७७ मा ५ हजार १ सय ४९ जनाले प्रतिलिपि नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । वैवाहिक अंगीकृत नागरिकता गत वर्षमा ९ जनाले लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १६ जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका थिए । नागरिकता लिनेको संख्या घट्नुमा गत आर्थिक वर्षको अन्तिम चौमासिक अवधि लकडाउनका कारण प्रभावित हुनु, प्रमुख जिल्ला अधिकारीहरु फेरिरहँदा ग्रामीण भेग लक्षित नागरिकता शिविर नहुनु प्रमुख कारण रहेका छन् । यस्तै स्थानीय पालिकाहरुले पनि नागरिकता शिविर सञ्चालन गर्न सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा गएको एक आर्थिक वर्षमा ४ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । पछिल्लो समय मकवानपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा हुँदा यसको असर नागरिकता वितरणमा देखिएको छ । प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निगरानीमा वडा–वडामा हुने नागरिकता शिविर सञ्चालन हुन नसकेपछि जिल्लामा नागरिकता लिनेको संख्या अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको हो ।

२०७६ साल भदौ १७ गतेसम्म मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा अस्मान तामाङ हुनुहुन्थ्यो । उहाँको सरुवा भएपछि भदौ १८ गतेदेखि प्रमुख जिल्ला अधिकारीको रुपमा प्रेमराज जोशीले ३ महिना काम गर्नुभयो । २०७६ साल मंसिर २३ गतेपछि जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका नारायणप्रसाद भट्टले ४ महिना काम गर्नुभयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा चौथो प्रमुख जिल्ला अधिकारीको रुपमा दीपकराज नेपाल लकडाउन अघि चैत्र ५ गते जिल्लामा आउनुभएको थियो । उहाँ हालसम्म पनि मकवानपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएको छ ।