हेटौँडा: स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय समितिको निर्वाचनका लागि निर्वाचन समिति गठन भएको छ । अधिवक्ता एवं सञ्चारकर्मी शेखरनाथ पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले अधिवक्ता पोख्रेलको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको थियो । जसको सदस्यमा अधिवक्ताद्वय सुमित्रा देवकोटा र पूर्णचन्द्र चालिसे हुनुहुन्छ । स्वतन्त्र पत्रकार संघ नेपालको १४ औँ वार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशन आगामी २४ फागुनमा नवलपुरको गैंडाकोटमा गर्ने तय भएको छ ।
साथै, संघले जिल्ला अधिवेशनहरु पुस मसान्तभित्र सम्पन्न गर्ने पनि निर्णय गरेको छ । २०६८ फागुन २४ गते पोखरामा स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपालको देशका २९ जिल्लामा शाखा विस्तार भएको छ । जसमा ५ सयभन्दा बढी पत्रकार आवद्ध छन् । संघ कुनै राजनीतिक पार्टीमा नलागी स्वतन्त्र रुपमा कार्यरत् सञ्चारकर्मीहरुको साझा संस्थाको रुपमा परिचित छ ।











