हेटौँडा:नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मकवानपुरको क्षेत्र नं. १ का प्रतिनिधि चयनका लागि शनिबार निर्वाचन भएको छ । मकवानपुरको क्षेत्र नम्बर २ का ८ जना प्रतिनिधिहरुको छनौट सहमतिबाटै टुङ्ग्याइएकोमा क्षेत्र नम्बर १ बाट चयन हुने ८ जना प्रतिनिधिका लागि निर्वाचन भएको हो । निर्वाचन पश्चात शनिबार राती ९ बजेपछि मात्र मतगणना शुरु भएको छ । मकवानपुरको संघीय क्षेत्र नं. १ मा ४ हजार १ सय ७ जना मतदाता रहेकोमा शनिबार भएको निर्वाचनमा १ हजार ५ सय ४७ मत खसेको छ । क्षेत्र नम्बर १ मा खुलातर्फ ४ जना, महिलातर्फ ३ जना र युवातर्फ १ जना गरी ८ जना प्रतिनिधि चयनका लागि २९ जना उम्मेदवार छन् ।
प्रतिनिधि चयनका लागि तोकिएको समयसीमा गत बुधबारसम्म ४९ जना चुनावी प्रतिष्पर्धामा रहेकोमा शुक्रबार २० जनाले उम्मेदवारी फिर्ता लिएपछि २९ जनाको उम्मेदवारी कायम गरिएको निर्वाचन कमिटी संयोजक सूर्यचन्द्र न्यौपानेले जनाकारी दिनुभयो । चुनावी प्रतिष्पर्धामा रहेका २९ जनामध्ये लागि १७ जनाको खुल्लातर्फ उम्मेदवारी कायम भएको हो । यसैगरी महिलातर्फ ७ जनाको कायम भएको छ भने युवातर्फ ५ जनाको उम्मेदवारी कायम भएको संयोजक न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको दलित आरक्षणबाट चयन हुने १ जना प्रतिनिधीमा विश्व बिकल विजयी हुनुभएको छ । उहाँले ४९ मत पाएर विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी शर्मिला बिकले ३६ मत प्राप्त गर्नुभएको थियो । दलित प्रतिनिधी छनौटको पनि शनिबार नै निर्वाचन सम्पन्न भएको थियो । दलित क्षेत्रतर्फ २ सय ६२ जना मतदाता रहेकोमा ८५ मत खसेको पनि एमाले मकवानपुरले जनाएको छ । महाधिवेशनका लागि मकवानपुर जिल्लाबाट १७ जना प्रतिनिधि चयन हुनेछ ।
महाधिवेशन प्रतिनिधिका लागि मकवानपुर क्षेत्र नम्बर–२ बाट ८ जना निर्विरोध चयन भएका छन् । क्षेत्र नम्बर २ बाट खुलातर्फ बलराम बल, एका लाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई चयन हुनुभएको हो । यसैगरी महिलातर्फ सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा चयन हुँदा युवातर्फ रोहण लामा निर्विरोध चयन भएको निर्वाचन कमिटीले जनाएको छ । ४ हजार २ सय ६४ जना मतदाता रहेको क्षेत्र नम्बर २ मा खुलातर्फ १६ जना, महिलातर्फ १० र युवातर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । मंसिर २७ देखि २९ सम्म हुने नेकपा एमाले महाधिवेशनमा मकवानपुरबाट क्षेत्र नं. १ बाट ८ जना, क्षेत्र नं. २ बाट ८ जना र १ जना दलित प्रतिनिधी जिल्लाभरबाट छनौट भएका प्रतिनिधीहरु सहभागी हुन पाउनेछन् ।











