हेटौंडाः पिप्ले युवा क्लब ‘सी’ डिभिजन छनोट प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरको सातदोबाटोमा जारी ‘सी’ डिभिजन छनोट प्रतियोगितामा शुक्रबार भएको खेलमा पञ्चकोशी युवा क्लबसँग पराजित भएपछि पिप्ले युवा क्लब जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
पिप्ले युवा क्लबले समूह चरणको दुवै खेलमा हार बेहोरेपछि ‘सी’ डिभिजनमा प्रवेश गर्न असफल भएको छ । शुक्रबार भएको खेलमा पिप्ले युवा क्लब पञ्चकोशी युवा क्लबसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।
यसअघि मंसिर ५ गते भएको खेलमा पिप्ले युवा क्लब मुसौरिया फुटबल क्लबसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले क्लबलाई सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद दिँदै अर्को वर्ष उपाधि नै उचाल्ने गरी तयारीका साथ प्रतियोगितामा फर्किने बताउनुभयो ।
मंसिर ४ गतेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहेको छ । छनोट प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश पाउनेछ ।










