हेटौंडा : कैलाश गाउँपालिका–८, भार्ताका मोतिबिन्दुका ७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । आँखा परीक्षण शिविरबाट फेला परेका बिरामीहरुको निःशुल्क शल्यक्रिया भएको भार्ता पुण्यदेवी स्वास्थ्य चौकीकी स्वास्थ्य प्रमुख रञ्जना प्रजापतिले जानकारी दिनुभयो ।
भार्ता स्वास्थ्य चौकीले गत कात्तिक २५, २६ र २७ गते वडाका विभिन्न ठाउँमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । विश्व स्वास्थ्य संगठन स्पेश २०३० कार्यक्रम अन्तर्गत हेटौंडा सामुदायिक आँखा अस्पतालको टोलीले पनि वडाका विभिन्न टोलमा कात्तिक २८, २९ र ३० गते निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो ।
शिविरमा ४ सय ४ जना पुरुष र ५ सय ३७ जना महिला गरी ९ सय ४१ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये ३ सय १६ जनालाई चस्मा र अन्य सामान्य समस्या भएकाहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । ३१ जना मोतिबिन्दुको बिरामी फेला परेको स्वास्थ्य प्रमुख प्रजापतिले बताउनुभयो । तीमध्ये शल्यक्रिया गराउन इच्छुक भएका ७ जनाको शुक्रबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको थियो ।











