हेटौँडा : मकवानपुरको मनहरी गाउँपालि–४, मसिनेस्थित पशुपतिनाथ माविको स्वर्ण महोत्सव सुरु भएको छ । साताव्यापी कार्यक्रम गरी विद्यालयले सोमबारबाट स्वर्ण महोत्सव मनाउन सुरु गरेको हो ।
स्वर्ण महोत्सवको पहिलो दिन सोमबार मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवासुविधाबाट विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गर्नुभएको छ । २३ जना विपन्न तथा दलित विद्यार्थीलाई पोसाक हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरको पोसाक वितरण गर्नुभएको हो । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरी सिफारिस गरेबमोजिम आफ्नो तलबभत्ताको रकमबाट सहयोग गरिएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदैगर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गर्ने उद्घोष गर्नुभएको थियो ।
पशुपतिनाथ माविले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सोमबार अध्यक्ष कालाखेतीले विद्यालय परिसरमा झण्डोत्तोलन गरी उद्घाटन गर्नुभएको हो । स्वर्ण महोत्सवको उद्घाटनसँगै विद्यार्थीबीच चम्चागुच्चा दौड, बोरा दौड, चकलेट दौडलगायतका प्रतियोगिता गरिएको थियो । मनहरी गाउँपालिका भित्रका संस्थागत तथा सामुदायिक माविका विद्यार्थीबीच भलिबल प्रतियोगितासहित विविध कार्यक्रम गरी मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिनुभयो ।
विव्यस अध्यक्ष गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष प्रकाश थापा, राजकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पवन खड्काको पनि आतिथ्य रहेको थियो ।











