हेटौँडा : बागमती प्रदेश सरकारले निर्माण गरेको दोलखाको शैलुङ गोलघर र गेष्ट हाउस स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले निर्माण गरेको शैलुङ गोलघर र कम्युनिटी लजको पर्यटकीय पूर्वाधार शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
शैलुङ गाउँपालिका वडा नम्बर–१ मा निर्मित ‘शैलुङ गोलघर’ र वडा नम्बर–८ मा बनेको ‘शैलुङ कम्युनिटी लज’ मन्त्रालयले औपचारिक रुपमा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । पर्यटन विकास आयोजना, हेटौँडाले अघिल्ला आर्थिक वर्षमा संरचनाहरु निर्माण गरी ‘पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि, २०८१’ बमोजिम गाउँपालिकाले नै संरक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिएको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
पूर्वाधार हस्तान्तरणसँगै मन्त्रालय र गाउँपालिका बीच प्रतिफल साझेदारी लिने गरी सम्झौता समेत भएको छ । सम्झौतापत्रमा पर्यटन विकास आयोजनाका निमित्त प्रमुख रोशन श्रीवास्तव र गाउँपालिकाका तर्फबाट अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार, यी संरचनाहरुबाट हुने आम्दानीको ७० प्रतिशत गाउँपालिकाले र ३० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्नेछ । सम्झौतापछि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले निर्माण गरेका संरचनाहरु स्थानीय तहलाई हस्तान्तरण नगर्दा प्रयोगविहीन भइरहेको बताउनुभयो । प्रयोगविहीन संरचनाहरु संरक्षण अभावमा जिर्ण बन्ने र अराजक तत्वबाट तोडफोड हुने जोखिम बढेको उहाँले बताउनुभयो । आफू मन्त्री भएदेखि नै हस्तान्तरण प्रक्रियालाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
‘हामीले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न र संरचनाहरुको सदुपयोगका लागि स्थानीय तहलाई नै जिम्मेवार बनाउन आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘यो हस्तान्तरण प्रक्रियाको पहिलो चरण हो र आगामी मंसिर ७ गते नुवाकोटको ककनीमा निर्मित भ्यूटावर तथा बहुउद्देश्यीय हल पनि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको छ । नुवाकोटको चिम्टेश्वरमा बनेको भ्यूटावर पनि हस्तान्तरणको प्रक्रियामा रहेको छ ।’ मन्त्रालयका सचिव सुवेदीले लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका पर्यटकीय पूर्वाधारबाट प्रतिफल प्राप्त गर्ने उद्देश्यले कार्यविधि बनाएरै हस्तान्तरण थालिएको बताउनुभयो । उहाँका अनुसार, २०७६ सालदेखि बहुवर्षीय योजनाका रूपमा सुरु भएका सो आयोजनाहरुको हालको अवस्था मूल्यांकन गरी आवश्यक मर्मत सम्भारपछि हस्तान्तरण गरिएको छ ।











