हेटौँडा : अभिभावकहरुले स्वयम् सक्रिय भई आफ्ना बालबालिकाहरुलाई पुस्तक तथा पाठ्य सामग्रीहरु पढ्न प्रोत्साहन गर्न वातावरण श्रृजना गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सोमबार समृद्ध समाज राष्ट्रिय दैनिकको १६औं वार्षिकोत्सवको अवसरमा पठन संस्कृतिको विकासमा अभिभावकको भूमिका विषयक छलफलका सहभागीहरुले अभिभावक स्वयम्ले पठन संस्कृति बढाउनुपर्ने बताएका हुन् ।
छलफलमा सहभागी बालसंरक्षण विज्ञ सुशील राज गिरीले अझै पनि ६० प्रतिशत विद्यालयहरुमा पुस्तकालयको व्यवस्था नै नगरिएकाले विद्यालयहरुले पुस्तकालय व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले ७५ प्रतिशत अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई पुस्तक पढ्ने कामलाई प्रोत्साहन दिन सक्रिय नभई मोबाइलमा सामाजिक सञ्जालमा सक्रिय हुने गरेकाले बालबालिकाहरु पनि त्यसैमा आकर्षित हुँदै गइरहेको बताउनुभयो । छलफलमा सहभागी सेवानिवृत्त शिक्षक पुरन बहादुर जोशीले अभिभावकहरु बालबालिकालाई पढ्न निर्देशन दिएर अन्तैतिर लाग्ने प्रवृत्तिले गर्दा पनि बालबालिकाहरु पढ्नमा ध्यान नदिने गरेको बताउनुभयो । विद्यालयका शिक्षकहरुलाई पनि पठन संस्कृति बढाउन विभिन्न तालिम र अभिभावक शिक्षामा समेत जोड दिनुपर्ने उहाँको भनाइ छ ।
यस्तै छलफलमा सहभागी मनहरी गाउँपालिका–४ स्थित पशुपति माविकी प्रधानाध्यापक सपना लामाले विद्यालयमा शिक्षक र घरमा अभिाभावकहरुले पठनपाठनका विभिन्न क्रियाकलापहरु गरेर बालबालिकामा पठन संस्कृति स्थापित हुने बताउनुभयो । प्रधानाध्यापक लामाले अभिभावक तथा शिक्षक मिलेर नै बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिनेमा जोड दिनुभएको छ । छलफलको समीक्षा गर्नुहुँदै सेवानिवृत्त शिक्षक भोगेन्द्र लुइटेलले बालबालिकालाई अभिभावकले र विद्यालयका साथै वडा तथा टोल विकास संस्थाहरुले पनि पुस्तकालय तथा स्थानहरुको व्यवस्था गरेर पनि पठन संस्कृतिको विकासमा सहयोग गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सहभागीले पुस्तक पढ्ने बानीको विकास मात्र गर्ने नभई बालबालिकाको उमेर अनुसारको उपयुक्त पुस्तक छनौट गरी बालबालिकाको मानसिक विकासलाई ध्यान दिन अभिभावक तथा शिक्षकहरुलाई सुझाव समेत दिएका छन् । केही वर्ष अघिसम्म बालबालिका केन्द्रित पुस्तकको अभाव रहेकोमा पछिल्ला वर्षहरुमा त्यस्ता बालबालिकाको मानसिक विकास केन्द्रित पुस्तकहरु प्रकाशन हुने क्रम बढेकोले पुस्तक छनौट गरेर मात्र बालबालिकालाई दिनुपर्ने र मोबाइल पनि अभिभावकको निगरानीमा मात्र चलाउन लिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा हेटौँडा नगरक्षेत्रका ५ वटा सामुदायिक र ५ वटा निजी विद्यालयका ५/५ जना अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई मायाको चिनो स्वरुप पुस्तक प्रदान गरिएको कार्यक्रममा शिक्षा समन्वय इकाइ मकवानपुर, राष्ट्रिय परीक्षा बोर्ड लगायतका कार्यालय प्रमुखहरु, मकवानपुर उद्योग वाणिज्य संघ, शिक्षाविद्हरु, सेवानिवृत्त शिक्षक तथा प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभावकहरु तथा विद्यार्थीको सहभागिता थियो ।











