उपाधि साथ लालिगुराँस एसोसिएसन क्लबको टिम ।

हेटौँडा : एन्फा प्रेसिडेन्ट लिगको उपाधि लालीगुराँस एसोसिएसन क्लबले उचालेको छ । मंगलबार गौरिटार रंगशालामा भएको फाइनल खेलमा लालीगुराँस एसोसिएसन क्लबले टाइब्रेकरमा चित्लाङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा चित्लाङ फुटबल क्लब ३–१ गोल अन्तरले पराजित भएको हो । लालीगुराँस एसोसिएसन क्लबका अनिष गुरुङ, लछु थापा र सरोज गुरुङले गोल गरेका थिए । यस्तै, चित्लाङ फुटबल क्लबका शिशिर लेखीले गोल गरे पनि जय गुरुङ, गौरव श्रेष्ठ र मदन स्याङ्तान गोल गर्नबाट चुकेका थिए । प्लेयर अफ द म्याच बनेका लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । फाइनल जितेसँगै लालीगुराँस एसोसिएसन क्लबले उपाधिसहित नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको चित्लाङ फुटबल क्लबले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लालीगुराँसका एन्जल श्रेष्ठ र सबभन्दा मूल्यवान खेलाडी चित्लाङका शिशिर लेखी घए । यसैगरी, सर्वाधिक गोलकर्ता लालीगुराँसका अनिष गुरुङ, नवजनजागृति युवा क्लबका सुजन डंगोल र काँक्रेबिहार युथ क्लबका अनिष धर्ती क्षेत्रीले प्राप्त गरेका छन् । यस्तै, फेयर प्ले टिमको अवार्ड बारा जिल्लाको नवजनजागृति युवा क्लबले प्राप्त गर्न सफल भएको छ । उत्कृष्ट गोल रक्षकले २५ हजार, सबभन्दा मूल्यवान खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र फेयर प्ले टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

आइतबार भएको सेमिफाइनल खेलमा काँक्रेविहार युथ क्लबलाई हराउँदै लालीगुराँस एसोसिएसन क्लब र नवजनजागृति युवा क्लबलाई हराउँदै चित्लाङ फुटबल क्लब फाइनलमा प्रवेश गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा कात्तिक १९ गतेबाट सुरु भएको प्रतियोगितामा सातवटै प्रदेशका १० वटा टिमको सहभागिता रहेको थियो ।

लिगमा लालीगुराँस एसोसिएसन क्लब (कास्की) र चित्लाङ फुटबल क्लब (काठमाडौं) सहित गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काँक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति युवा क्लब (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), हैरान्स क्लब (तनहुँ) र टाइगर्स टिम टिकाताथल (दोलखा) को सहभागिता रहेको थियो । ती टिमहरु एन्फामा आवद्ध भई जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगमा छनोट भएका हुन् । प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार वटा टिम एन्फाको आयोजनामा हुने राष्ट्रिय लिगका लागि छनोट भएका छन् ।