मामाघर नेपाललाई सहयोग गर्नुहुने दाजुभाइ स्वीट्सका सञ्चालकलाई धन्यवाद पत्र हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई पछिल्लो समय विभिन्न व्यक्तिहरूले जन्मदिन, आफन्तको पूण्यतिथि तथा विशेष अवसरमा सहयोग गर्दै आएका छन् । सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गराउँदै आएको मामाघर नेपालमा पुगेर सहयोग हस्तान्तरण गर्ने गरिएको छ ।


शुक्रबार हेटौँडाका लक्ष्मी कुमारी हुमागाई, भिमसेन हुमागाई, सावित्री हुमागाई, संगीता घिमिरे तथा अजय हुमागाईको उपस्थितिमा सानी नानी आस्वी हुमागाईको पहिलो जन्मदिनको अवसरमा ६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरिएको छ । शुक्रबार मकवानपुरस्थित दाजुभाइ स्वीट्स एण्ड फास्ट फुड बेकरीको १६ औँ वार्षिकोत्सवको दिन राजकुमार गौतम, नवराज गौतम र दीपक गौतमले दिवा खाजा सेट २८ पिस उपलब्ध भएको थियो । बिहीबार हेटौंडा–५, भैरवटोलका केदार सिवाकोटी तथा पार्वती सिवाकोटी दम्पतीले आफ्नी स्व. छोरी सरिता सिवाकोटीको १७ औँ पूण्यतिथिमा जेरी, पुरी, हलुवा र ब्रेडसहितको बिहानी खाजा सेवा उपलब्ध गराउनु भएको थियो ।


बुधबार मकवानपुरको थाहा नगरपालिका–४ निवासी पुरुषोत्तम नगरकोटीले आफ्नो जन्मदिनको अवसरमा परिवारसहित उपस्थित भएर मामाघरलाई २३ हजार बराबरको स्टेसनरी सामग्री तथा तरकारी सहयोग गर्नुभएको छ । हाल मामाघरमा २१ जना बालकहरु रहेका छन् । शनिबार हेटौँडा–११, नवलपुरका सन्तोष चौलागाईं र सीमा कँडेलले छोरा अथर्व चौलागाईंको पहिलो जादिनको अबसरमा परिवारसहित मामाघर पुगेर १० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । शनिबार बिहान हेटौँडा–५ की अम्बिका दाहालले बिहानी खाना सेवा गर्नुभएको छ ।


शनिबार भरतपुर–१२ का बिमला अधिकारी देवकोटा, अन्जना नेपाल पौडेल र डा. ज्ञानेन्द्र गदालले जाडोका लागि २४ थान न्यानो लुगा, भरतपुर–१२ का उद्धव सुवेदीले छोराहरु यमन सुवेदी र यमस सुवेदीको तर्फबाट ११ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै हेटौँडा–५ की शुभद्रा पराजुलीले आफ्ना पितृको स्मृतिमा ५ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौँडा–३ लेवटकी किस्मिता मोक्तानले जन्मदिनको अवसरमा परिवारसहित उपस्थित भएर मामाघर नेपालमा आश्रित बालकहरुका लागि बिहानको खाजा सहयोग गर्नुभएको छ ।