हेटौंडाः इस्लाम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा हजका लागि मकवानपुरबाट २ जना साउदी अरब जाने भएका छन् । सन् २०२६ मा नेपालबाट १ हजार २ सय जना हजमा सम्मिलित हुन जान पाउने कोटा रहेकोमा मकवानपुरबाट २ जना सम्मिलित हुन लागेका हुन् ।
इस्लाम समुदायको बाहुल्यता रहेको स्थानमा धेरै इस्लाम धर्माबलम्बीहरु हजका लागि सम्मिलित हुने भए पनि मकवानपुरबाट आउँदो वर्ष २ जनामात्र सहभागी हुने भएको हज समितिका सदस्य मोहम्मद समिमले जानकारी दिनुभयो । हजयात्रामा सहभागी हुन चाहनेका लागि गत भदौ ६ गते गोरखापत्रमा सूचना प्रकाशित भए पनि कोटाभन्दा निकै कम सहभागी हुन इच्छुक देखिएपछि समितिले दुईपटक म्याद थप गरेर मंसिर ५ गतेसम्म फर्म भर्न सूचित गरेको छ । हजयात्रामा जाँदा प्रतिव्यक्ति करिब ४ लाख नेपाली रुपैयाँ खर्च हुने भएकाले हजमा सहभागी हुने चाहनेको संख्या कम भएको बताइएको छ ।

प्रत्येक वर्षजस्तै यस वर्षको पनि हिजरी सम्बतको १२ औं महिनाको १० औं दिन नेपाली क्यालेण्डर अनुसार जेठ महिनामा पर्ने बकरइदमा साउदी अरबमा रहेको मक्का र मदिना शहरमा तीर्थयात्रा अर्थात् हज गर्ने गरिन्छ । बकरइद भन्दा १५ दिन अगाडिदेखि विदेशी मुस्लिम धर्मावलम्बीहरुलाई साउदी सरकारले आफ्नो देशभित्र प्रवेश दिने गर्दछ ।
हजयात्रीहरु ३२ दिनभित्र आफ्ना धार्मिक आस्थाका क्रियाकलापहरु सकेर आफ्नो देश फर्कनुपर्ने व्यवस्था रहेको पनि हज समितिका सदस्य समिमले जानकारी दिनुभयो । अहिलेसम्म मकवानपुरबाट हजका लागि इच्छुक भई फर्म भरेका व्यक्तिहरको पनि पासपोर्ट नबनिसकेकाले अझै हजयात्रा सुनिश्चत भइनसकेको पनि उहाँले जानकारी दिनुभयो ।