हेटौंडा देशकै पुरानो शहरमध्ये एक भए पनि यहाँको विकासको गति मन्द नै छ । शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण पूर्वाधारमा हेटौंडा कमजोर नै रहेको छ । बागमती प्रदेशको राजधानी भएपछि हेटौंडाको शिक्षा र स्वास्थ्य क्षेत्रमा आशालाग्दो परिवर्तन देखिन थालेको छ । प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि चिकित्सा शिक्षाका विभिन्न विषयको पठनपाठनका साथै स्वास्थ्य उपचारका नयाँ सेवाहरु विस्तार भएको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानमातहत सञ्चालन गरेपछि अस्पतालको स्तरोन्नतिका साथै विभिन्न रोगको विशेषज्ञ सेवाहरु थप भएका छन् । साधारण विषयमा मात्र उच्च शिक्षाको अवसर रहेको हेटौंडामा प्राविधिक विषयहरु थप हुँदै गएका छन् । कृषि तथा वन विश्वविद्यालयको वन संकायको डिन कार्यालय हेटौंडामा स्थापना गरिएको छ भने हटिया क्याम्पसमा कृषि विज्ञानको स्नातक तहमा अध्यापन सुरु भएको छ ।
उच्च शिक्षाका नयाँ विषयहरु पठनपाठन गराएर चर्चा बटुलेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा नयाँ सम्भावना देखाएको छ । कक्षा ११, १२ मा विज्ञान तथा व्यवस्थापनका साथै स्नातक तहमा व्यवस्थापनका विविध विषय अध्यापन गराउँदै आएको म्यानेजमेन्टले केही वर्षदेखि एमबीबीएस तयारी कक्षा सञ्चालन गर्दै आएको थियो । यस वर्षको एमबीबीएसको प्रवेश परीक्षामा म्यानेजमेन्टको तयारी कक्षामा सहभागी १७ जना विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् । तयारी कक्षामा सहभागी ४१ जनामध्ये १७ जनाले एमबीबीएस पूर्ण क्षत्रवृत्तिमा अध्ययन गर्न पाउने भएका हुन् । तयारी कक्षाका लागि काठमाडौं अथवा भरतपुर गएर महंगो शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गर्दै हेटौंडामै तयारी कक्षा सञ्चालन गरेकोमा उत्साहजनक सफलता प्राप्त भएको हो । कक्षा ११ को सुरुवातदेखि नै विज्ञान संकायका विद्यार्थीलाई म्यानेजमेन्टले एमबीबीएसको तयारी कक्षा सञ्चालन गरेका कारण आशालाग्दो सफलता प्राप्त गरेको मान्न सकिन्छ ।
चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते काठमाडौंमा एमबीबीएसको प्रवेश परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा १८ हजार ८ सय विद्यार्थी सहभागी भएका थिए । परीक्षामा उच्च नतिजा ल्याउने ६ सय ९१ जनाले खुला तथा आरक्षणबाट छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति पाउनेमध्ये १७ जना हेटौंडामा सञ्चालन भएको तयारी कक्षाका सहभागी हुनुले हेटौंडाबासीमा नयाँ अवसरको ढोका खुलेको छ । आफ्नै घरमा नियमिति अध्ययनका साथै एमबीबीएस तयारी कक्षामा सहभागी हुन पाउने सुविधाले धेरैको डाक्टर बन्ने इच्छा पूरा गर्न सहज हुने भएको छ । विगत ५ वर्षदेखि म्यानेजमेन्टले सञ्चालन गरिरहेको एमबीबीएस तयारी कक्षामा सहभागीहरुले छात्रवृत्तिमा नाम निकाल्ने संख्या र दर वर्षेनि बढ्दै गएको छ ।
कुनैबेला ड्राइभरको शहरको उपमा पाउने गरेको हेटौंडालाई डाक्टरको शहर बनाउने लक्ष्यसहित हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रयत्नले शिक्षा क्षेत्रमा नयाँ सम्भावना देखाएको छ । हेटौंडामै तयारी कक्षा सञ्चालन गरेर धेरैलाई छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसरसँगै हेटौंडामै एमबीबीएस पढ्न पाउने अवसर पनि थप भएको छ । यस वर्षदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामै एमबीबीएसको कक्षा सञ्चालनको अनुमति प्राप्त गरेपछि हेटौंडाका विद्यार्थीलाई थप सुविधा हुनुका साथै हेटौंडाको परिचय पनि फेरिने भएको छ ।











