हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्युु भएको छ । बिहीबार प्रदेशको सिन्धुली, चितवन र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका–७, ठाटीस्थित मरिण खोला नजिकको खोल्सामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा २५ वर्षीय देविलाल कामी रहेको प्रहरीले जानकारी दिएको छ । देविलाल मंगलबार बिहान ११ बजेको समयमा घरबाट हराएका थिए । उनलाई खोजी गर्दै जाँदा बिहीबार बिहान ९ बजेर ४० मिनेटको समयमा मरिण खोला नजिकको खोल्सामा जमेको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा देविलाललाई छारे रोग रहेको परिवारले बताएका छन् ।
चितवनको कालिका नगरपालिका–७, त्रिनाथटोलमा घाँटीमा बोसो अड्किएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय झमत प्रसाद पनेरु रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो २ बजेको समयमा पनेरु आफ्नै घरमा मादकपदार्थ सेवन गरी स्थानीय भट्टीमा गएर राँगाको काँचो बोसो खाँदा घाँटीमा अड्किएर बेहास भएका थिए । उनलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएकोमा दिउँसो ३ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको धुनिवेशी नगरपालिका–७, लप्सेमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३३ वर्षीय प्रबिन भन्ने प्रकाश भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहानदेखि आफ्नै घर भित्र सुतेका भण्डारी सुतिरहेको बेलुका ७ बजे मृत फेला परेका थिए । अनुसन्धान क्रममा भण्डारी जण्डिसको बिरामी रहेको र औषधी सेवन गर्ने गरेको पाइएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।











