प्रहरीले बरामद गरेको लागूऔषध ।

हेटौँडा : मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित हेटौँडा–५, सानोपोखराबाट ५ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान १० बजेको समयमा ८ हजार ३ सय क्याप्सुल ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहराका अनुसार लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा हेटौँडा–२ का ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङ्तान, हेटौँडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ का २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दीपेश सञ्जेल पक्राउ परेका छन् । लागुऔषध ओसारपसारमा संलग्न बक्सर भनेर चिनिने रवि लामा यसअघि बलात्कार मुद्दामा ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा विशेष सुराकको आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी बोहराले जानकारी दिनुभयो । प्रहरीले ना ३२ प ३२४४ र बा प्रदेश ००५ प १८५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । आरोपीहरू विरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।