प्रमुख सचिव भुपाल बरालको विदाईमा मायाको चिनो हस्तान्तरण गर्नुहुँदै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी ।

हेटौँडा : बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालको ५ महिनामै सरुवा भएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराल सचिवमा बढुवा हुनुभएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।

जिम्मेवारी पाएको ५ महिनामै उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्कनु भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उहाँले शुक्रबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नु हुनेछ । बराल यसअघि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख हुनुहुन्थ्यो ।

बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक जस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नु भएको छ । दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिवमा बराललाई ल्याइएको हो । यसैगरी, मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गरेको छ ।