हेटौंडाः हेटौंडाको गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा विजय स्पोर्टस् क्लबले दोस्रो जित हात पारेको छ । विजय स्पोर्टस् क्लबले देउराली युथ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै दोस्रो जित निकालेको हो ।

आइतबार भएको दोस्रो खेलमा विजय स्पोर्टस्का निरज चौधरीले खेलको १२ औँ, १४ औँ र ८६ औँ मिनेटमा र अरोन थापाले ४७ औँ मिनेटमा गोल गरेका थिए । जवाफमा देउरालीका उज्वल राईले खेलको २५ औँ मिनेटमा एक गोलमात्रै फर्काउन सफल भएका थिए । ३ गोल गरी प्लेयर अफ द म्याच बनेका निरज चौधरीले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसअघि बुधबार विजय स्पोर्टस् क्लबले आफ्नो पहिलो खेलमा लालीगुराँस एसोसिएसन क्लबसँग गोलरहीत बराबरीमा खेल्दै १/१ अंक बाँडेका थिए । शुक्रबार दोस्रो खेलमा चित्लाङ फुटबल क्लबलाई १–० गोलले हराएको थियो ।

यस्तै, आइतबार भएको पहिलो खेलमा जनजागृति युवा क्लब लालीगुराँस एसोसिएसन क्लबसँग पराजित भएको छ । लालीगुराँसले जनजागृतिलाई ४–० गोल अन्तरले हराएको थियो । खेलको ३३ औँ र ९० औँ मिनेटमा अनिश गुरुङले र ४८ औँ मिनेटमा यमबहादर श्रेष्ठले गोल गरेका हुन् । यस्तै, ९० औँ मिनेटमा अनिश गुरुङले नै पेनाल्टीमा गोल गरेका थिए ।

प्लेयर अफ द म्याच बनेका लालीगुराँस एसोसिएसन क्लबका अनिश गुरुङले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसअघि शुक्रबार जनजागृति युवा क्लबले प्रतियोगितामा आफ्नो पहिलो खेलमै देउराली युथ क्लबसँग ३–१ गो अन्तरले हारेको थियो ।