प्रहरीले हरेक वर्ष एउटा अभियान सञ्चालन गर्छ– अवैध गाँजा खेती फडानी । ग्रामीण क्षेत्रका किसानले लगाएको गाँजाको ब्याड र विरुवा फडानीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिन्छ । यो अभियान मकवानपुर जिल्लामा पनि प्रत्येक वर्ष चलिरहकै छ । गत हप्ता मकवानपुर प्रहरीले यो मौसमी अभियान सञ्चालन गरको छ । गत सोमबारदेखि बिहीबारसम्म प्रहरी टोलीले ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौंडाबाट संयुक्तरूपमा खटिएको एक सय २ जनाको प्रहरी टोलीले मकवानपुरको उत्तरी भेगमा अबैधरूपमा खेती गरिएको गाँजा फडानी गरी नष्ट गरेको छ ।
गाँजा तथा अफिम खेतीका लागि उर्वर भूमिको रुपमा मकवानपुर परिचित छ । मकवानपुरको पश्चिमी क्षेत्रका साविक सरिखेत, राक्सिराङ, खैराङ, काँकडा, कालिकाटार, भार्ता, गोगने, आग्रा, डाँडाखर्क, नामटारलगायत गाउँ विकास समिति विगतदेखि नै गाँजा तथा अफिम खेतीका लागि चर्चित रहेका थिए । विगतमा जिल्लाको पूर्वी क्षेत्रको केही विकट क्षेत्रमा गाँजा खेती हुने गरेको भए पनि पछिल्लो समय कम भएको छ । तर, पश्चिमी क्षेत्रका अहिले राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न क्षेत्रमा गाँजा खेती गर्न छाडिएको छैन । गत हप्ता प्रहरी टोलीले राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार तथा कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटीको गाँजा खेती नष्ट गरेको हो । प्रहरी टोलीले भीमफेदी गाउँपालिकाको भदौरे र ज्यार्पुलगायत विभिन्न क्षेत्रमा लगाइएको गाँजा पनि नष्ट गरेको छ । प्रहरीका अनुसार अबैध गाँजा खेती नियन्त्रण अभियानमा स्थानीय तह, सामुदायिक प्रतिनिधि र सम्बन्धित निकायहरूको पनि सहयोग रहेको थियो ।
नेपालमा गाँजालाई प्रतिबन्धित लागूऔषध मानिन्छ । गाँजाको उत्पादन, भण्डारण, ओसारपसार, बेचविखन, सेवन सबै अवैध हो । गाँजाको ओसारपसारमा संलग्नलाई प्रहरीले पक्राउ गरेर जेल सजाय गराउने गरको छ । तर, गाँजा उत्पादनका लागि खेती गर्नेहरुलाई भने अहिलेसम्म प्रहरीले पक्राउसमेत गरेको सुनिएको छैन । अभियानको नाममा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गाँजाको बोट फडानी गर्ने प्रहरीले गाँजा खेती गर्ने व्यक्ति वा खेती गरिएको जग्गाधनीसँग सोधपुछ समेत गर्छ कि गर्दैन ? थाहा छैन । गाँजा खेती फडानी अभियानको क्रममा प्रहरीले असुली धन्दासमेत चलाउने गरेको आरोप लाग्ने गरेको छ । प्रहरीसँग सेटिङ मिलाउने र रकम बुझाउनेको गाँजा प्रहरीले नदेख्ने गरेको आरोप लाग्दै आएको छ ।
प्रहरी प्रशासनले गाँजा खेती फडानीको मौसमी अभियान चलाए पनि गाँजा खेती अन्त्य हुन सकेको छैन । गाँजा ओसारपसारको क्रममा वर्षभरि नै प्रहरीले सयौं मानिस पक्राउ गर्नुले गाँजा खेती कायमै रहेको पुष्टि हुन्छ । अवैध गाँजा खेती कसको आडमा हुने गरेको छ ? गाँजाको बेर्ना तयार गर्नेदेखि विरुवा लगाएर बाली भित्र्याउने समयसम्म गाउँगाउँका प्रहरी इकाई के हेरेर बस्ने गरेका छन् ? स्थानीय सरकारले गाँजा खेती निरुत्साहित गर्न किन तत्परता देखाउँदैन ? फडानी अभियान चलाउने प्रहरीले किन सबै गाँजा खेती नष्ट गर्न सक्दैन ? जोखिम मोलेर गाउँ–गाउँमा किन गाँजा खेती भइरहेको छ ? यस्ता प्रश्नको उत्तर खोज्न सकेमा गाँजा खेती अन्त्य गर्न सकिएला । प्रहरीको केही दिने मौसमी अभियानबाट मात्रै गाँजा खेती अन्त्य हुने सम्भावना देखिँदैन ।











