सांकेतिक तस्वीर ।

हेटौँडा : सुनकोशी गाउँपालिका–६, पुछिघाट पुल नजिक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । शनिबार राति साढे ८ बजेको समयमा चैनपुरबाट पुछीघाट जाने कच्ची भित्री सडक खण्डमा चैनपुरबाट पुछिघाटतर्फ जाँदै गरेको ना ६ त ६५४४ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट पल्टिँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

चालक रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–४ का २२ वर्षीय डिल बहादुर माझीलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा खटेको टोलीले सोही ट्याक्टरले टाउको च्यापिएको अवस्थामा उद्दार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल, खाल्टे पठाइएको थियो । शनिबार राती १० बजेर १५ मिनेटको समयमा शुभ जीवन अस्पताल खुर्कोटका डाक्टरले माझीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।