हेटौँडा : जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते भिमफेदी कारागारबाट भागेका मध्ये १ सय ५७ जना कैदीबन्दीहरु कारागारमा फिर्ता आएका छैनन् । आन्दोलनका क्रममा कारागारबाट भागेका ४ सय ४० जना कैदीबन्दी मध्ये हालसम्म १ सय ५७ जना कैदीबन्दीहरु कारागार फिर्ता नभएका हुन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कारागार तोडेर ३९ जना भारतीयसहित बाँकी नेपाली कैदीबन्दीहरु गरी भिमफेदी कारागारबाट ४ सय ४० जना भागेकोमा असोजको पहिलो हप्तामा १३ जना भारतीय कैदीबन्दीहरुसहित २ सय ८३ जना कैदीबन्दीहरु कारागारमा फिर्ता आएको भिमफेदी कारागारका सूचना अधिकारी जीवन निरौैलाले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दी फर्कने क्रममा अन्य कारागारका ७१ जना भिमफेदी कारागारमा आएका थिए जसमध्ये २५ जना कैदीहरुकै साविककै कारागार स्थानान्तरण गरी पठाइएको र यस अवधिमै १ जना थुनामुक्त भएका छन् । ३९ जना भारतीय कैदीबन्दी भागेकामा १३ जना फिर्ता आएपनि २६ जना अझै फरार रहेको भिमफेदी कारागारले जनाएको छ । फरार कैदीबन्दीहरुलाई पक्राउ गर्नका लागि जिल्ला प्रशासन कार्यालयका साथै प्रहरी एवम् सम्पूर्ण सुरक्षा निकायहरुसँग समन्वय गरिरहेको पनि सूचना अधिकारी निरौलाले बताउनुभयो । भदौ २४ गतेसम्म भिमफेदी कारागारमा १ हजार ६६ जना कैदीबन्दी रहेकामा हाल ९ सय ४१ जना कैदीबन्दीहरु रहेका छन् ।
आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट कैदीबन्दी भाग्न शुरु गरेपछि देशका अन्य कारागारमा पनि तोडफोड तथा आगजनी गरी कारागारबाट भाग्ने क्रम शुरु भएको थियो । असोज ३० गते गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागले देशभरका कारागारहरुबाट ४ हजार ५ सय ४ जना नेपाली, ५ सय ४२ जना भारतीय र चीन लगायत अन्य मुलुकका १ सय ३ जना बिदेशी कैदीबन्दीहरु फरार रहेको विवरण प्रकाशन गरिसकेको छ । यसअघि नै असोज १० गते गृह मन्त्रालयले प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधी सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरी कार्यादेश समेत जारी गरिसकेको छ ।











