हेटौँडा : चार्डवार्डको समयमा सार्वजनिक सडकमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई परिवारको जिम्मा लगाई सवारीसाधनहरू मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार हेटौँडा बजारका विभिन्न स्थानबाट मादक पदार्थ सेवन गरी सञ्चालन भइरहेका १ वटा अटो र २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पुस्कर बोगटीका अनुसार, नियन्त्रणमा लिइएका सवारीसाधनहरू सम्बन्धित कानुनअनुसार जरिवाना गराइने छ । डीएसपी बोगटीका अनुसार, मादक पदार्थ सेवन विरुद्धको यो अभियान अन्तर्गत हेटौंडा बजारका विभिन्न भागहरूमा बुधबार (आज) पनि जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीद्वारा विशेष चेकजाँच भई रहेको छ ।
सार्वजनिक सडकमा मादक पदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्नुले गम्भीर दुर्घटनाको जोखिम बढाउने भएकाले आम नागरिकलाई यस्ता क्रियाकलापबाट टाढा रहन र ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुनः अनुरोध गरेको छ ।











