हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा विभिन्न घटनामा एकैदिन चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१०, बिरेन्द्र क्यापस चोकमा इभी गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेर ४० मिनेटको समयमा बिरेन्द्र क्यापस चोकस्थित बा–प्र–०६–००१ ज ०३२९ नम्बरको इभी गाडीले रोड क्रस गर्दै गरेकी मालपोत चोक बस्ने ५५ वर्षीया बाल कुमारी श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
गाडीको ठक्करबाट बालकुमारी गम्भिर घाइते भएकी थिइन् । घाइते बालकुमारीलाई उपचारका लागि नँया मेडीकल कलेज भरतपुर लगिएको थियो । सोमबार बिहान ११ बजेर ५५ मिनेटको समयमा थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डि हस्पिटल रिफर गरिएको थियो । उपचारको क्रममा बालकुमारीको मंगलबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–२, क्षेत्रपुरको रामेस्वर मन्दिर नजिक आचानक बेहोस भएकी वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको कालिका नगरपालिका–१०, घर भई भरतपुर २ क्षेत्रपुरको रामेस्वर मन्दिर नजिक डेरा गरि बस्ने ७३ वर्षीया रिता तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । रिता मंगलबार बिहान ९ बजेको समयमा आफु सुत्ने कोठाको ढोकामा बेहोस अवस्थामा फेला परेकी थिइन् । रितालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ९ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको रत्ननगर नगरपालिका–९, टिकौली जंगलमा बस र कार एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मंगलबार साँझ ५ बजेको समयमा नारायणगढबाट टांडी तर्फ आउँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट जाँदै गरेको बिएबी ५००८ नम्बरको कार एक आपसमा ठोकिँदा बसमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसमा सवार रत्ननगर नगरपालिका–१०, बस्ने ३३ वर्षीया पुजा सुवेदी गम्भिर घाइते भएकी थिइन् भने बाँकी ९ जना सामान्य घाईते भएका थिए । घाइते सबैलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुलाई सामान्य उपचार डिस्चार्ज गरिएको र बस चालक जिल्ला चितवन राप्ति नगरपालिका–२, बस्ने ३६ वर्षीय सुरज कडेललाई जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खैरहनी नगरपालिका–२, जनजीवन टोलमा मोटरसाइकल आँफै अनियन्त्रीत भई पल्टँदा चालकको मृत्यु भएको छ । मंगलबार राती भित्री सडकमा बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक गोरखा घर भई हाल जिल्ला चितवन खैरहनी नगरपालिका–४, कंकालीस्थित मामा घरमा बस्दै आएका २६ वर्षीय राजकुमार बराम गम्भिर घाइते भएका थिए । राजकुमारलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा राती १ बजेर १३ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











