हेटौँडा : चैनपुर जेसीज मनहरीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा डिनिपा सुवेदी प्रथम भएकी छिन् । जेसीज सप्ताह अन्तर्गत मंगलबार बिहान मनहरी–८ स्थित महेन्द्रकिरण माविका कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतियोगिता आयोजना गरिएको थियो । ९ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताको शीर्षक ‘परिवर्तनका लागि युवा’ रहेको थियो ।
प्रतियोगितामा सुस्मिता मल्ल द्वितीय र कुशल अधिकारीले तृतीय स्थान हासिल गरिन् । चैनपुर जेसीज मनहरी वर्ष सन् २०२५ का अध्यक्ष कृष्णप्रसाद ढकालको प्रकरण ‘परिवर्तनका लागि युवा’ विषयमा महेन्द्रकिरण माविका विद्यार्थीको बीचमा वक्तृत्वकला आयोजना भएको हो । प्रतियोगितामा मनहरी गाउँपालिकाका स्रोत शिक्षक बिदुरविक्रम थापा, विद्यालयकी प्रधानाध्यापक कविता लामा र जेसीजका निवर्तमान अध्यक्ष रविन ढकालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रम संयोजक सन्तोष ढकालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक रेखाकुमारी लामा, नरहरी कार्कीलगायतको आतिथ्य रहेको थियो । प्रमुख अतिथी उप्रेतीले जेसीजले सबै क्षेत्रलाई समेट्दै विभिन्न कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै सहकार्यका लागि सदैव तयार रहेको बताउनुभयो । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीयलाई जेसीज सप्ताहको समापनको दिन क्रमशः ३ हजार, २ हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मिलन ढुंगानाले जानकारी दिनुभएको छ ।











