हेटौँडा ः हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने भएको छ । बोर्डको कार्यालयमा पानी परीक्षण प्रयोगशालामा उपकरणहरु जडान गरिसकिएकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ५० प्रतिशत र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको ५० प्रतिशत लागतमा २२ लाख रुपैयाँ लागतमा प्रयोगशाला निर्माण गरिन लागेको हो । टेण्डरमार्फत जेएचएस एनालिटिक काठमाडौंले प्रयोगशाला निर्माणको कार्य गरेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । आगामी २ साताभित्र प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो । प्रयोगशालामा सबै काम सकिएपनि परीक्षण गर्ने रसायन, किटहरु ल्याउन बाँकी रहेको र प्रयोगशाला नियमित गराउन सुरुवातमा एक जना विशेषज्ञ प्राविधिक पनि आवश्यक हुनाले तत्काल शुरु गर्न नसकिएको अध्यक्ष बिष्टले स्पष्ट पार्नुभएको छ ।
प्रयोगशाला सञ्चालनपछि अत्याधुनिक तवरले पानी परीक्षण गराउन मकवानपुर जिल्ला मात्र नभई अन्य छिमेकी जिल्लाहरुलाई पनि सहज हुने उहाँको भनाई छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९, राष्ट्रिय गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएको २८ वटा पारामितिले पानी परीक्षण गर्न सहज हुने बोर्डको अपेक्षा छ । सुरुवाती चरणमा पानीको भौतिक, रासायनिक तथा माइक्रो बायोलोजिकल प्रकारका २८ मध्ये १४ वटा पारामिति परीक्षणहरु परीक्षण गर्न सकिने बोर्डका प्रयोगशालाका कार्यालय सहायक माधव चौलागाईले जानकारी दिनुभयो । प्रयोगशालामा पानीको आर्सेनिक, फ्लोराइड, धमिलोपना, इकोली लगायतका परीक्षण गरिने बोर्डले जनाएको छ । यसअघि २०७५ सालदेखि नै बोर्डले सामान्य उपकरणहरुद्वारा पानी परीक्षण गर्दै आएकोमा अत्याधुनिक प्रयोगशालामा गुणस्तर परीक्षण हुने हुनाले नतिजामा बढी विश्वसनीयता रहने बोर्डले दावी गरेको छ ।











