हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा रहेका विद्यालयहरू सञ्चालनमा आएका छन् । दशैँको अवसरमा असोज ६ गतेदेखि बन्द भएको विद्यालयहरू मंगलबारबाट पुनः सञ्चालनमा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो ।
विद्यालयमा असोज ३१ गतेसम्म नियमित पठनपाठन सञ्चालन भएर कार्तिक १ गतेदेखि तिहार एवम् छठ पर्वको अवसरमा बिदा गरिने छ । विद्यालय पुनः कार्तिक ११ गते मंगलबारबाट सञ्चालन हुने शाखा प्रमुख तामाङले जानकारी दिनुभयो । पालिका भित्र ७६ वटा सामुदायिक विद्यालय र चारवटा संस्थागत विद्यालयहरू रहेका छन् । पालिका भित्रका विद्यालयमा करिब १० हजार विद्यार्थीहरू अध्ययनरत छन् ।
यस्तै मकवानपुरको बागमती गाउँपालिकाका विद्यालयहरु पनि मंगलबारबाटै सञ्चालनमा आएका छन् । पालिकाले शैक्षिक क्यालेण्डर अनुसार नै पठनपाठन सुरु गरेको पालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । राईका अनुसार असोज ३ र ४ गते सार्वजनिक विदा परेकोले ५ गते वर्षे बिदा थप गरी ६ गतेदेखि दशैं बिदा दिएको थियो । गत वर्ष पनि पालिकाले विद्यालयहरूमा पठनपाठन सञ्चालन गरेको थियो । ५० वटा सामुदायिक विद्यालय रहेको गाउँपालिकामा हाल ७ हजार ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दोस्रो त्रैमासिक परीक्षा मंसिर २१ गतेदेखि २८ सम्म सञ्चालन गर्नेछ ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिकाका पनि विद्यालयहरू सञ्चालनमा आएका छन् । दशैंको अवसरमा घटस्थापनाका दिनदेखि पठनपाठन बन्द गरिएका विद्यालय मंगलबारबाट नियमित सञ्चालनमा आएको पालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । नियमित पठनपाठन असोज ३१ गतेसम्म सञ्चालन भएर तिहार एवम् छठ पर्वको अवसरमा कार्तिक १ गतेदेखि १० गतेसम्म विद्यालय बन्द रहनेछ भने कार्तिक ११ गतेदेखि नियमित सञ्चालनमा आउने पराजुलीले बताउनुभयो । गाउँपालिकामा ३२ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा करिब ९ हजार विद्यार्थी अध्ययनरत छन् भने संस्थागत विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । गत वर्ष दशैं, तिहारको अवधिमा विद्यालय बन्द रहेको थियो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरूमा पठनपाठन सुचारु भएका छैनन् । पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानका अनुसार शैक्षिक क्यालेण्डर अनुसार नै विद्यालय बन्द भएको हो । कतिपय विद्यालयहरूले जेन्जी आन्दोलनका क्रममा बन्द भएका कारण नतिजा सुधारका लागि विद्यालय सञ्चालन गरेका छन् भने कतिपय विद्यार्थीले ८, ९ र १० का विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेका छन् । मकवानपुरगढी गाउँपालिका भित्र ३५ वटा सामुदायिक विद्यालय रहेका छन् । ५ हजार १७३ जना विद्यार्थी अध्ययनरत छन् ।
यस्तै हेटौडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा पठनपाठन सञ्चालन भएको छैन । दशैँ, तिहार र छठ पर्वको अवसरमा विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय छठ पश्चात् कार्तिक ११ गतेबाट नियमित सञ्चालनमा आउनेछ ।
दशैँ विदापछि मकवानपुर जिल्लाका निजी विद्यालयहरुमा पठनपाठन सुरु भएको छ । बुधबारबाट नियमित रुपमा पठनपाठन सुरु भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो । दशैँ विदा सुरु भएसँगै विद्यालयहरुमा पनि मंगलबारसम्मका लागि विदा दिइएको थियो । बुधबारदेखि शिक्षक र विद्यार्थीहरु विद्यालय फर्किएका छन् र शैक्षिक गतिविधिहरू पुनः सुरु भएको छ । असोज ३१ गतेसम्म नियमित पठनपाठन सञ्चालन हुने र कात्र्तिक १ गतेबाट तिहारको विदा सुरु हुने अध्यक्ष सुवेदीले बताउनु भयो ।











