हेटौँडा : चैनपुर जेसीज मनहरीले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’ आज बिहीबारबाट सुरु हुँदैछ । प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरिएको छ । उद्घाटन खेल कमाने फुटबल एकेडेमी र बागमती प्रदेश प्रहरी बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता मनहरी गाउँपालिका–४, मसिनेस्थित खेलमैदानमा हुनेछ । यस संस्करणमा मकवानपुर र चितवनका गरी १३ वटा फुटबल क्लबले सहभागिता जनाएका छन् । कमाने र प्रहरीसँगै हाँडीखोला यूथ क्लब, मनहरी–४, मनहरी–५, शान्ति सृजना युवा क्लव, पटिहानी इभेन्ट्स, मकवानपुरगढी जेसीज, लामिटार यूथ क्लब, गुरुशिष्य पाठशाला, माया एफसी, एफसी ढेंडो, मोडर्न युथ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार एक सय ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिनुभयो ।

प्रतियोगितालाई मनहरी गाउँपालिकाको ४ नम्बर वडाले मुख्य प्रायोजन गरेको छ भने मनहरी ५ नम्बर वडा, मनहरी गाउँपालिकाको कार्यालय, सानाकिसान कृषि सहकारी लामिटार लगायतका संघसंस्थाले सहयोग गरेको छ । युवा बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकासका निम्ति जेसीज कप खुला फुटबललाई निरन्तरता दिँदै आएको जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालले बताउनुभयो । ‘हामीले स्थापनाकालदेखि नै प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौँ’, अध्यक्ष ढकालले भन्नुभयो । आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने योजना रहेको अध्यक्ष ढकालले बताउनुभयो । प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो संस्करणको उपाधी बागमती प्रदेश प्रहरी गणले जितेको थियो भने दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो ।