हेटौँडा : शुक्रबार रातीदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने तीनवटा सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो १ जेको समयमा हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । शनिबार दिउँसो ४ बजेको समयमा सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

यस्तै इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै शनिबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ ।

यता कान्तिलोकपथ सडकखण्डमा शनिबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेसँगै गृहमन्त्रालयको आदेशपछि काठमाडौं जोड्ने सडकमा सवारी आवागमन रोकिएको छ ।