सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा शुक्रबार भएका विभिन्न घटनामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलोस्थित बाह्रबिसे–तातोपानी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । शनिबार बिहान ११ बजेर १० मिनेटको समयमा काठमाण्डौबाट तातोपानीतर्फ जाँदै गरेको बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १० मिटर तल खसेको थियो । दुर्घटनामा अष्ट्रेलियन नागरिक ७१ वर्षीय प्रिटर ज्याक्सन र ६८ वर्षीया जेन्ट ज्याक्सन गम्भीर घाइते भएका थिए । घाइते दुवैको धुलिखेल अस्पतालमा सामान्य उपचार पश्चात थप काठमाडौंस्थित नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा शनिबार दिउँसो ३ बजेको समयमा चिकित्सकले जेन्टलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२१ देवदर्शनमा एक जना पुरुषको पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि मृत्यु भएको छ । मृत हुनेमा ३५ वर्षीय मानसिहं (बसन) गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा पौडी खेल्ने क्रममा अचानक बेहोस भएका थिए । गुरुङलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थिया । उपचारका क्रममा गुरुङ साँझ ५ बजेको चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा च्याउ खोज्ने क्रममा भिरबाट लडेर एक व्यक्ति सात दिनपछि मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ५२ वर्षीय बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । असोज ३ गते च्याउ खोज्न सेतीदेवी सामुदायिक वन गएकोमा दिउँसो ३ बजेको समयमा भिरबाट लडेर घट्टेखोलामा खसेर बेपत्ता भएका थिए । तामाङलाई खोजतलास गर्दै जाँदा शनिबार बिहान १० बजेर ३० मिनेटको समयमा घटनास्थलभन्दा करिब २ सय मिटर तल घट्टेखोलाको पानूको छाँगामा तामाङको शव फेला परेको हो । शव लामो समय पानीमा रहेकाले सडेको अवस्थामा भेटिएको थियो ।