हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १५ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार कृषि र प्रशासन सेवाका अधिकृतस्तर दशौं र नवौं तहका कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो ।
प्रदेशको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले प्रमुख सचिव भुपाल बारालले गरेको उक्त सरुवामा कृषि तथा पशु सेवातर्फ ८ जना र प्रदेश प्रशासन सेवातर्फ ७ जना उपसचिव परेका छन् ।
कृषि तथा पशु सेवातर्फ को कहाँ ?
सरुवा सूचीअनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत (अधिकृतस्तर दशौं) डा. राम प्रकाश प्रधानलाई पशु सेवा कार्यालय, मकवानपुरको जिम्मेवारी दिइएको छ ।
यस्तै, मकवानपुरको पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. ब्रज किशोर ठाकुरलाई पशु सेवा कार्यालय, काभ्रे सरुवा गरिएको छ भने काभ्रेबाट डा. सुजा वाग्लेलाई ललितपुरस्थित पशु सेवा कार्यालयमा पठाइएको छ ।
त्यसैगरी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाकी वरिष्ठ मत्स्य विकास अधिकृत अन्जु घर्ती मगरलाई मत्स्य विकास केन्द्र, भण्डारामा सरुवा गरिएको छ । भण्डाराका वरिष्ठ मत्स्य विकास अधिकृत (अधिकृतस्तर दशौं) माधव दाहाललाई भने निर्देशनालयमा ल्याइएको छ ।
ललितपुरको पशु सेवा कार्यालयका वरिष्ठ मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेलाई पशु सेवा कार्यालय, चितवन पठाइएको छ भने चितवनबाट वरिष्ठ पशु विकास अधिकृत सुनिल के.सी. लाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडामा सरुवा गरिएको छ । कृषि विकास निर्देशनालय, हेटौंडाका वरिष्ठ कृषि प्रसार अधिकृत प्रमोद दाहाललाई कृषि विकास कार्यालय, रामेछापको जिम्मेवारी दिइएको छ ।
प्रशासनतर्फ पनि हेरफेर
प्रदेश प्रशासनतर्फ यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधाराका अधिकृत (अधिकृतस्तर दशौं) नेत्र प्रसाद भट्टराईलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयका अधिकृत राजन पोख्रेललाई यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पठाइएको छ ।
पर्यटन कार्यालय, काठमाडौंका भक्त बहादुर भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ल्याइएको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयका पवन कुमार पोख्रेललाई पर्यटन कार्यालय, काठमाडौंको जिम्मेवारी दिइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका होमनाथ रिजाललाई संस्कृति तथा पर्यटन मन्त्रालयमा र मुख्यमन्त्री कार्यालयका आशिष आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, युवा तथा खेलकुद मन्त्रालयका प्रकाश अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौंडामा पठाइएको छ ।










