हेटौँडा ः मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई बुधबार हेटौँडा–१५, रातोमाटेबाट पक्राउ गरेको छ । बुधबार दिउँसो २ बजेर ४० मिनेटको समयमा हेटौँडा–१५ रातोमाटेबाट लागूऔषध ओनरेक्स २५ बोतल र नाईट्रोजेपाम ९० ट्याब्लेटसहित मकवानपुर जिल्लाको बकैया गाउँपालिका–४, छतिवनका ३७ वर्षीय दीपक सन्जेल र हेटौँडा–५ का अब्दुल अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना ५२ प ४०५८ नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्दा मोटरसाइकल चलाउने अब्दुल र मोटरसाइकलमा पछाडि बसेका दीपकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले दीपक र अब्दुललाई हिरासतमै राखेर आवश्यक कारवाही तथा थप अनुसन्धान गरिरहेको जनाएको छ ।











