आगजनीले क्षति पुगेको प्रदेशसभा भवन ।

हेटौँडा : जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बागमती प्रदेश सभाको बैठक सञ्चालनमा अन्योल सिर्जना भएको छ । आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयको पुरानो र नवर्निर्मित दुवै भवनमा पूर्ण क्षति पु¥याएपछि तत्काल बैठक डाक्न सक्ने अवस्था नरहेको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ भवन पूर्णरुपमा ध्वस्त भएको छ भने पुरानो भवनमा आगजनीका कारण जीर्ण अवस्था छ । प्राविधिक टोलीले पुरानो भवन प्रयोग गर्न नमिल्ने निश्कर्ष निकालेको सचिव दर्जीले बताउनुभयो । ‘पुरानो भवनमा नपस्न भनिएको छ, अब पुनः परीक्षणपछि मात्रै प्रयोगबारे निर्णय हुन्छ,’ उहाँले भन्नुभयो । आन्दोलनका क्रममा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये कांग्रेस र माओवादी केन्द्रबाहेक एमाले, एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका संसदीय दलका कार्यालयमा आगजनी भएको सचिवालयले जनाएको छ ।

कांग्रेस र माओवादी केन्द्रका कार्यालयमा पनि तोडफोड भएको छ । सचिव दर्जीका अनुसार सचिवालय र दलका कार्यालयका सबै अभिलेख र कागजात जलेर नष्ट भएका छन्, डिजिटलाइज्ड दस्तावेज मात्र सुरक्षित छन् । प्रदेशसभा भवन र कार्यालयमा गरिएको आगजनीबाट पाँच वटा भवन, तीन वटा चारपाङ्ग्रे गाडी, छ वटा मोटरसाइकल, बैठक कक्ष, ढोका–झ्याललगायतका संरचना पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् । प्रारम्भिक अनुमानअनुसार करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको सचिवालयले जनाएको छ ।

यसैबीच, दशैंअघि बैठक राख्ने तयारी भए पनि तोडफोड र आगजनीका कारण बैठक बस्न सकेको छैन । सचिवालयका अर्का सचिव रामकुमार पौडेलका अनुसार अब दशैंको कोजाग्रत पूर्णिमापछि मात्र बैठक बोलाउने तयारी छ । उहाँका अनुसार तत्कालिन सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत गर्न र नयाँ सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन बैठक अनिवार्य डाक्नुपर्ने बाध्यता छ । ‘भवन प्रयोगमा ल्याउन नसकिने भएकाले सभा परिसरको ग्यारेजलाई अस्थायी बैठक स्थल बनाउन लागिएको छ,’ पौडेलले भन्नुभयो, ‘त्रिपाल टाँगेर भए पनि बैठक सञ्चालन गर्नुपर्ने हुन्छ ।’ हाल प्रदेश सभा सचिवालयको कामकाज भने कांग्रेस र माओवादी केन्द्रको संसदीय दल कार्यालय रहेको स्थानबाट सञ्चालन भइरहेको सचिवालयले जनाएको छ ।