हेटौँडा : जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा हेटौंडा उपमहानगरपालिकाको झण्डै ३३ करोड रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ । उपमहानगरपालिकका विभिन्न वडा कार्यालयहरु तथा मुख्य प्रशासनिक भवनहरुसहित अन्य सम्पत्तिहरु आगजनीमा परी ३२ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको हेटौंडा–२ स्थित मुख्य प्रशासनिक भवन तथा छेउमा रहेको सानो भवन, सँगैको सभाहलमा आगोको कारणले सबैभन्दा धेरै क्षति पुगेको हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख तथा क्षति मूल्याङ्कन समितिका संयोजक भीमप्रसाद तिमल्सिनाले बताउनुभयो । उपमहानगरपालिकाको वडा नं ११ र वडा नं १५ कार्यालयहरुमा पनि आगजनी हुँदा पूर्ण क्षति भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, वडा नं १० र १९ कार्यालयहरुमा पनि तोडफोड हुँदा आंशिकरुपमा क्षति हुन पुगेको छ भने हेटौंडा ११ स्थित बागमती प्रदेश सरकारबाट हस्तान्तरित प्रादेशिक थोक कृषि बजारमा पनि तोडफोडबाट क्षति पुगेको छ । वडा नं ४ र वडा नं ३ कार्यालयका कार्यालय सामग्रीहरु बाहिर निकालेर आगजनी गरिएको थियो । यी सबै भौतिक पूर्वाधारहरुको क्षति करिब १६ करोड ४० लाख रुपैयाँ बराबर भएको उपमहानगरपालिकाले जनाएको छ ।
सो आन्दोलनमा उपमहानगरपालिकाको भौतिक संरचनापछि सवारी साधनको क्षति पनि उल्लेखनीय रुपमा भएको छ । उपमहानगरपालिकाका ९ वटा साना गाडीहरु, शवबाहन, दुईवटा ट्रयाक्टर, एउटा ट्रिपर, एउटा जेसिबी, रोलर, ग्रास कटरलगायत उपमहानगरले विभिन्न काममा प्रयोग गर्दै आइरहेका उपकरणहरु र १९ वटा दुई पाङ्ग्रे सवारी साधनहरु आन्दोलनकारीहरुले जलाउँदा करिब ६ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । उपमहानगरपालिका प्राङ्गणमा पार्किङ गरिराखेको अवस्थामा यी सवारी साधनहरु आगजनीमा परेका थिए ।
आन्दोलनको क्रममा उपमहानगरपालिकाको प्रशासनिक कार्यालयका विभिन्न शाखा तथा विभिन्न वडा कार्यालयहरुमा रहेका एक सयभन्दा बढी कम्प्युटर, प्रिन्टर अफिस फर्निचर, दराजलगायत जिन्सी मौज्दातहरु पनि आगजनी, तोडफोड तथा चोरी गरेर क्षति पुगेको उपमहानगरपालिकाले जनाएको छ । यस्तै, उपमहानगरपालिकाले सञ्चालन गरेका वडा नं ३, ४ र १० का शहरी स्वास्थ्य संस्थाहरुमा पनि क्षति पुगेको छ । यी कार्यालय भित्रको सामग्रीहरु ९ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको समितिका संयोजक तिमल्सिनाले स्पष्ट पार्नुभयो । क्षति भएका कार्यालय सामग्री तत्काल खरिद गर्न नसकिने भएकोले क्षति पुगेका फर्निचरहरु नै प्रयोग गरेको उपमहानगरपालिकाले जनाएको छ । कम्युटर प्रयोग गर्ने कर्मचारीमध्ये अधिकांशले आप्mना व्यक्तिगत कम्प्युटर तथा ल्यापटपहरु प्रयोग गर्दै सेवा प्रवाह गरिरहेका छन् ।
जेनजी आन्दोलनमा हेटौंडा उपमहानगरपालिकामा भएको आगजनी, तोडफोड, लुटपाट र चोरीबाट भएको क्षति मूल्याङ्कन गर्न भदौ २७ गते सामाजिक विकास महाशाखा प्रमुख तिमल्सिनाको संयोजकत्वमा प्राविधिकसहितको ५ सदस्यीय क्षति मूल्याङ्कन समिति गठन भएको थियो । सो समितिले क्षतिको अनुगमन तथा मूल्याङकन गर्दै असोज २ गते उपमहानगरपालिका समक्ष प्रतिवेदन पेश गरेको थियो ।











