हेटौँडा : हेटौँडा–१९, दारीमटारमा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दारीमटामा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकको अगाडिको दाहिने टायर पड्किएपछि ट्रक अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको ना ६ ख २११९ नम्बरको बस र ना ७ ख १७७४ तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किँदा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पताल हेटौँडामा लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी पर्वत जिल्ला मोदी गाउँपालिका–६ की ३६ वर्षीया लक्ष्मी रानाको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पतालमा मंगलबार दिउँसो २ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते अझै एक जनाको अवस्था गम्भिर रहेको छ भने अन्य घाइते मध्यम तथा सामान्य रहेको छ । सवारीसाधनहरू नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।











